वरीयता र समानुपातिक सूचीमै अड्कियो रास्वपा–उज्यालोको एकता


काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता प्रक्रिया धरमर अवस्थामा पुगेको छ। एकता सम्झौता भएको दुई साता नबित्दै दुवै पार्टीका शीर्ष नेताहरूबीच भएका पटक–पटकका छलफलहरू निष्कर्षविहीन बनेका छन्।

बुधबार मन्त्री पदबाट राजीनामा दिएका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ निकट नेताहरूले रास्वपासँगको सहकार्य सहज नहुने संकेत गरेका छन्। शुक्रबार रास्वपा सभापति रवि लामिछाने, कुलमान घिसिङलगायत नेताहरूबीच भएको बैठकले पनि कुनै ठोस सहमति निकाल्न सकेन।

उज्यालो नेपाल पार्टीका प्रवक्ता डा. राजु थापाका अनुसार वरीयता निर्धारण, समानुपातिक उम्मेदवार सूची, जिल्ला बाँडफाँट तथा केन्द्रीय सदस्य संख्याजस्ता विषयमा सहमति नजुट्दा एकताको भविष्य अनिश्चित बनेको हो। प्रारम्भिक छलफलमा भएका कतिपय भद्र सहमतिहरू कार्यान्वयन नभएको गुनासो पनि उनले गरे।

यता, कुलमान घिसिङले भने एकताको विषय शनिबार बेलुकासम्म टुङ्ग्याउने बताउनुभएको छ। शनिबार बिहान एक कार्यक्रममा बोल्दै उनले सहमति नभए उज्यालो नेपाल पार्टीबाटै अघि बढ्ने संकेत गरे। पार्टी दर्ता भइसकेको अवस्थामा देशको आवश्यकता र जनताको चाहनाअनुसार रास्वपासँग समझदारी गरिएको उनको भनाइ छ।

उज्यालो नेपाल पार्टीका कार्यकर्ताहरूले पार्टीलाई स्वतन्त्र रूपमा अघि बढाउन दबाब बढाइरहेका छन्। सहमति सम्भव नभए चुनावी तालमेलको विकल्प अपनाउनुपर्ने सुझाव समेत कार्यकर्ताहरूबाट आएको छ।

गत पुस १४ गते दुई पक्षबीच सात बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै एकताको घोषणा गरिएको थियो। उक्त सहमतिमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका थिए भने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह साक्षी रहेका थिए।

प्रतिक्रिया