
छाङरु र तिङ्करको निर्वाचन खलङ्गामै हुने
दार्चुला- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि व्यास गाउँपालिका–१ छाङरु र तिङ्कर गाउँका मतदाताले सदरमुकाम खलङ्गामा मतदान गर्नुपर्ने भएको छ । गत मङ्सिरमा यहाँका दुवै गाउँका स्थानीय बसाइसराइ (कुञ्चा) सरेर खलङ्गा आएका कारण निर्वाचन खलङ्गा मै हुने भएको हो ।
विसं २०७९ को स्थानीय तह निर्वाचन छाङ्गरु र तिङ्करकै मतदान केन्द्रमा भएको थियो । यसपटक स्थानीयको बसाइसराइ सरेको कारण दुवै मतदान केन्द्र खलङ्गा मै कायम गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । यहाँको वडामा दुई वटा मतदान केन्द्र कायम छ ।
जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकारी प्रदीपसिंह धामीका अनुसार कैलाशपति आधार भूतविद्यालय छाङरुमा ३७५ जना र मोतिमहिला सङ्घ आधारभूत विद्यालय तिङ्कर केन्द्रमा २४४ जना मतदाता छन् ।
विसं २०७९ मा भएको स्थानीय तह प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा छाङरुको मतदान केन्द्रमा ३८३ र तिङ्कमा २३४ जना मतदाता थिए । यसैगरी प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि दार्चुलामा ११२ मतदानस्थल र १४३ मतदान केन्द्र तोकिएका छन् । जिल्ला सुरक्षा समिति दार्चुलाका अनुसार तोकिएकामध्ये २२ मतदान केन्द्र अति सम्वेदनशील सूचीमा राखिएको छ ।
जिल्लामा रहेका १४३ मतदान केन्द्रमध्ये २२ अति सम्वेदनशील, ४१ सम्वेदनशील र ७८ सामान्य सूचीमा राखेर विभाजन गरिएको जिल्ला सुरक्षा समिति प्रमुख एवं प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।



कागजपत्र |
