
राप्रपाको बन्दसूचीविरुद्ध केन्द्रीय कार्यालयमै तनाव, नेतृहरू आन्दोलित
काठमाडौं – समानुपातिक बन्दसूचीलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र विवाद चर्किएको छ। सूचीमा नातावाद र अवसरवाद हाबी भएको आरोप लगाउँदै केन्द्रीय तहका महिला नेतृहरू पार्टी केन्द्रीय कार्यालय पुगेपछि तनावपूर्ण अवस्था सिर्जना भएको छ।
आन्दोलित नेतृहरूले सार्वजनिक गरिएको नामावलीले नेपालको संविधानको मर्म र पार्टीका आधारभूत आदर्शको उल्लङ्घन गरेको आरोप लगाएका छन्। उनीहरूका अनुसार अल्पसंख्यक, पिछडिएका, उत्पीडित तथा विपन्न वर्गको राजनीतिक सहभागिता सुनिश्चित गर्न संविधानले व्यवस्था गरेको समानुपातिक प्रणालीलाई पार्टी नेतृत्वले नै उपहास गरेको छ।
नेतृहरूले लामो समयदेखि पार्टीका लागि संघर्ष गर्दै आएका, त्याग र योगदान गरेका योग्य महिलाहरूलाई पाखा लगाएर पहुँचका भरमा अवसरवादी तथा परिवारका सदस्यहरूलाई प्राथमिकता दिइएको आरोप लगाएका छन्। उम्मेदवार छनोटको स्पष्ट मापदण्ड नदेखिएको भन्दै वर्षौंदेखि सक्रिय कार्यकर्ताहरू किन सूचीबाट बाहिर परे भन्ने प्रश्न उनीहरूले उठाएका छन्।
समानुपातिक सूचीमा देखिएको भनिएको अवसरवादी निर्णय तत्काल सच्याउन, परिवारवादलाई प्रश्रय दिने सबै निर्णय खारेज गर्न तथा पार्टीभित्र आन्तरिक लोकतन्त्र सुनिश्चित हुने गरी स्पष्ट मापदण्ड लागू गर्न उनीहरूले माग गरेका छन्।
राप्रपालाई अवसरवाद र परिवारवादबाट मुक्त गर्दै सिद्धान्तनिष्ठ, जनमुखी र भरोसायोग्य राजनीतिक शक्ति निर्माण गर्नुपर्नेमा उनीहरूको जोड छ। नेतृहरूले पत्रमार्फत आफ्ना मागहरू यथाशीघ्र सम्बोधन नगरिए विरोधस्वरूप आमरण अनशन बस्न बाध्य हुने चेतावनीसमेत दिएका छन्।



कागजपत्र |
