कांग्रेसको महाधिवेशन विवाद नजिकबाट हेरिरहेका छौँ, तर हस्तक्षेप गर्दैनौँ: निर्वाचन आयोग


काठमाडौं– निर्वाचन आयोगले नेपाली कांग्रेसभित्र चर्कँदै गएको महाधिवेशन विवादलाई नजिकबाट हेरिरहेको जनाएको छ। यद्यपि, उक्त विवाद दलको आन्तरिक विषय भएकाले हाल आयोगले औपचारिक हस्तक्षेप नगर्ने स्पष्ट पारेको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले कांग्रेसको विवाद आन्तरिक लोकतन्त्रसँग जोडिएको विषय भएको बताए।

उनले भने, “कांग्रेसको महाधिवेशन विवाद दलभित्रकै आन्तरिक विषय हो। आयोगले यस्ता विषयमा सहजै प्रवेश गर्ने नीति लिएको छैन, त्यसैले अहिलेसम्म कुनै औपचारिक धारणा बनाइएको छैन। तर, आयोगले नजिकबाट हेरिरहेको हुन्छ।”

नेपाली कांग्रेसभित्र नियमित र विशेष महाधिवेशनको विषयलाई लिएर विवाद उत्कर्षमा पुगेको छ। केही दिनअघि बसेको कार्यसम्पादन समिति बैठकले आगामी बैशाखमा नियमित महाधिवेशन गर्ने कार्यतालिका बहुमतले पारित गरेको छ।

तर, विशेष महाधिवेशन पक्षधरहरूले भने पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेका छन्। यस पहलमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा उपमहामन्त्री फरमुल्लाह मन्सुरलगायत नेताहरूको समर्थन रहेको छ।

विशेष र नियमित महाधिवेशनसम्बन्धी विवाद निर्वाचन आयोगसम्म पनि पुगेको छ। केही दिनअघि विशेष महाधिवेशन पक्षधरले आयोगमा पत्राचार गरे पनि आयोगले त्यसबारे अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन।

प्रवक्ता भट्टराईले थपे, “यो दलभित्रको लोकतन्त्रको विषय हो। अहिलेलाई यति भनौँ।” कांग्रेसभित्रको आन्तरिक विवादले पार्टी विभाजनको अवस्था आउन सक्ने अड्कलबाजीसमेत सुरु भएको छ।

प्रतिक्रिया