
पहिलो पटक आमाको नामबाट वंशज नागरिकता जारी
बाँके- जिल्ला प्रशासन कार्यालय बाँकेले आमाको नामबाट पहिलो पटक वंशजका आधारमा नागरिकता प्रदान गरेको छ। प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नागरिकता नियमावलीको चौथो संशोधन बमोजिम नेपालगन्ज उपमहानगरपालिका–८, अन्सारीटोल निवासी २४ वर्षीय मोहन गोडीयालाई नागरिकता प्रदान गरेका हुन्।
प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार गोडीयालाई उनकी ४६ वर्षीया आमा मायाकुमारी गोडीयाको नामबाट वंशजको नागरिकता दिइएको हो।
नागरिकता प्राप्त गरेपछि मोहन गोडीयाले आफूलाई राज्यको वास्तविक नागरिक भएको अनुभूति भएको बताए। “१७ वर्षको उमेरदेखि निरन्तर खेलकुदमा सक्रिय छु। विसं २०८० मा काठमाडौँमा सम्पन्न अन्तर–नगरपालिका राष्ट्रिय खेलकुद र २०८१ मा चितवनमा भएको अन्तर–प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएँ,” उनले भने, “तर कागजातको अभावले धेरै अवसर गुमाउनुपर्यो।”
नागरिकता प्राप्त भएसँगै जीवनको ठूलो बाधा हटेको महसुस भएको बताउँदै गोडीयाले अब खेलकुदसहित अन्य क्षेत्रमा पनि अवसर पाउने आशा व्यक्त गरे।
प्रमुख जिल्ला अधिकारी तामाङले संविधान तथा प्रचलित कानुनअनुसार नागरिकको पहिचान सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गरे। उनले नागरिकका हक र अधिकार सुनिश्चित गर्न प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।
उनका अनुसार जिल्ला प्रशासन कार्यालय बाँकेले नागरिकता वितरण प्रक्रियालाई पारदर्शी, सहज र सेवाग्राहीमैत्री बनाउँदै आएको छ। नागरिकका समस्या संवेदनशीलतापूर्वक सम्बोधन गर्ने नीति लिइएको उनले जानकारी दिए।



कागजपत्र |
