नेपाली कांग्रेसको विशेष महाधिवेशन विवादमा निर्वाचन आयोग प्रवेश नगर्ने


काठमाडौं– नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनका सन्दर्भमा आवश्यक निर्देशन दिन माग गर्दै निर्वाचन आयोगमा पेस गरिएको निवेदनमा आयोगले कुनै कारबाही नगर्ने स्पष्ट पारेको छ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले राजनीतिक दलहरूको आन्तरिक विवादमा आयोग प्रवेश नगर्ने बताएका छन्।

लोकान्तरसँग कुरा गर्दै आयुक्त भण्डारीले भने, “दलहरूको आन्तरिक झगडामा निर्वाचन आयोग प्रवेश गर्दैन। दलले निर्णय गरेर ल्याएको विषय नियम र कानून बमोजिम छ कि छैन भन्ने मात्रै आयोगले हेर्छ।”

उनका अनुसार, विशेष महाधिवेशनसम्बन्धी निवेदन पेस भए पनि आयोगले त्यसमा हस्तक्षेप गर्नुपर्ने अवस्था छैन।

विशेष महाधिवेशन पक्षधरहरूले नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन पुस २७ र २८ गते सम्पन्न गराउन राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ अनुसार निर्देशन दिन माग गर्दै पुस १६ गते निर्वाचन आयोगमा निवेदन दिएका थिए।

निवेदनमा बहुमत केन्द्रीय महाधिवेशन प्रतिनिधिको माग र पार्टी विधानको बाध्यकारी व्यवस्थाअनुसार विशेष महाधिवेशन विधिसम्मत, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउन पार्टी सभापति, कार्यवाहक सभापति तथा केन्द्रीय कार्यसमितिलाई आवश्यक निर्देशन दिन अनुरोध गरिएको छ।

 

प्रतिक्रिया