रवि–बालेन समूहले २० वर्षसम्म बहुमत ल्याउन सक्दैन: ओली


काठमाडौं-  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने–बालेन शाह समूहले आगामी २० वर्षसम्म पनि बहुमत ल्याउने गरी चुनाव जित्न नसक्ने दाबी गरेका छन्।

बुधबार काठमाडौंमा आयोजित भूतपूर्व सैनिक तथा प्रहरी संगठनको स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनाव भएमा एमाले नै विजयी हुने जिकिर गरे। एमाले र नेपाली कांग्रेसले जित्ने सम्भावना देखिँदा चुनाव नै नगराउने चर्चा चलाइएको आरोपसमेत उनले लगाए।

रवि–बालेन समूहलाई इंगित गर्दै ओलीले भने, ‘एमाले–कांग्रेसले जित्ने भए चुनावै नगराउने अरे ! फलानाले जित्ने भए मात्रै गराउने अरे ! ती फलानाले त आउने २० वर्षसम्म चुनाव जित्नेवाला छैनन्। अब के गर्ने, २० वर्ष चुनावै नगराउने ? भोँपु बजाउनु बेग्लै कुरा हो।’

अध्यक्ष ओलीले हाल चुनावी वातावरण नबनेको दाबी गर्दै वातावरण बने एमाले चुनावमा सहभागी भएर जित्ने स्पष्ट पारे। ‘यदि चुनाव भयो भने हामी सहभागी हुन्छौँ र जित्छौँ,’ उनले भने।

उनले सेना परिचालन गरेर मात्रै शान्तिपूर्ण निर्वाचन सम्भव नहुने उल्लेख गर्दै मतदानमा जाने मतदातालाई बाटोमै रोक्न सकिने अवस्था रहेको बताए। त्यस्तो परिस्थितिमा सेनाले पनि केही गर्न नसक्ने उनको टिप्पणी थियो।

प्रतिक्रिया