
काठमाडौंको शंखरापुरमा यात्रुबाहक बस दुर्घटना, ४ जनाको मृत्यु
काठमाडौं- काठमाडौंको शंखरापुर नगरपालिका–३ अन्तर्गत पर्ने लप्सेफेदी जंगलमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने चालकसहित दर्जनौँ यात्रु घाइते भएका छन्।
बुधबार साँझ ढोल्बु सामुदायिक वन क्षेत्रमा बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस दुर्घटनामा परेको हो। दुर्घटनामा एक पुरुष र तीन महिलाको ज्यान गएको प्रहरीले जनाएको छ। मृतकहरूको हालसम्म औपचारिक पहिचान खुल्न सकेको छैन।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार घाइतेमध्ये ५५ वर्षीया शान्ती गुप्ताको मात्र पहिचान खुलेको छ। बस चालक ध्रुव रेग्मी घाइते भएका छन् र उनको उपचार भइरहेको छ।
दुर्घटनामा घाइते भएका यात्रुहरूको शंखरापुर अस्पताल, मुलपानी नगर अस्पताल, सुष्मा कोइराला अस्पताल (साँखु) तथा नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
बस जर्सिपौवाबाट साँखुतर्फ पिकनिक गएर फर्कदै गरेको अवस्थामा दुर्घटनामा परेको बताइएको छ।



कागजपत्र |
