
नेकपासँग सहमति टुटेपछि राष्ट्रियसभामा एमालेको सिट संख्या बढ्यो
काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग सिट बाँडफाँटमा सहमति हुन नसकेपछि आगामी राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) बीच मात्र चुनावी तालमेल हुने भएको छ।
तालमेलको नयाँ समीकरणअनुसार एमालेले आठ सिटमा उम्मेदवारी टुंगो लगाएको छ। यदि नेकपासँग सहमति कायम रहेको भए एमालेको भागमा छ सिट मात्र पर्ने थियो।
माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा १८ सिटका लागि कांग्रेसले नौ, एमालेले आठ र जसपा नेपालले एक सिट पाउने सहमति भएको छ।
एमालेले आफ्नो भागमा परेको सिट संख्याअनुसार सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारी, कर्णाली प्रदेशबाट मीना रखाल र लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
एमाले महासचिव शंकर पोखरेलका अनुसार गण्डकी प्रदेशबाट सम्झना देवकोटा, बागमती प्रदेशबाट प्रेम दंगाल, मधेश प्रदेशबाट रेखा झा तथा कोशी प्रदेशबाट रोशनी मेचे र सोम पोर्तेललाई उम्मेदवार चयन गरिएको छ।



कागजपत्र |
