नक्कली नोट छाप्ने मेसिनसहित भारतीय नागरिक पक्राउ


काठमाडौं – नक्कली नोट छाप्ने मेसिनसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको मोतिहारी निवासी २८ वर्षीय रबि कुमार श्रीवास्तव रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय बारासँगको समन्वयमा उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार आइतबार भारतबाट नेपालतर्फ नक्कली नोट छाप्ने मेसिन, कम्प्युटर तथा अन्य प्रिन्टिङ उपकरण बोकेर ल्याउँदै गर्दा श्रीवास्तव पक्राउ परेका हुन्। उनी बीर ०५ एफ २५११ नम्बरको भारतीय नम्बर प्लेट भएको बुलेट मोटरसाइकलको पछाडिको सिटमा उक्त उपकरण राखेर नेपाल प्रवेश गरिरहेका थिए।

यसअघि गत १६ गते नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलबाट एक हजार दरका ९३ थान नक्कली नोटसहित ६ जनालाई नियन्त्रणमा लिएको थियो। सोही घटनाको अनुसन्धानका क्रममा श्रीवास्तवसम्म प्रहरी पुगेको जनाइएको छ।

प्रहरीले नक्कली नोट कारोबारसम्बन्धी थप अनुसन्धान जारी राखेको छ।

प्रतिक्रिया