
अछाममा विद्यालय परिसरबाटै १३ वर्षीया किशोरीकाे अपहरण
अछाम- अछाममा विद्यालय परिसरबाटै एक किशोरी अपहरणमा परेकी घटना सार्वजनिक भएपछि स्थानीयवासी त्रसित बनेका छन्। बान्नीगढी जयगढ गाउँपालिका–स्थित जयगढको सरस्वती माध्यमिक विद्यालय परिसरबाट कक्षा ७ मा अध्ययनरत १३ वर्षीया किशोरी अपहरणमा परेकी हुन्।
प्राप्त विवरणअनुसार विद्यालय छुट्टी भएपछि घर फर्किन लागेकी, विद्यालय पोशाकमै रहेकी किशोरीलाई गत बिहीबार (पौष १७ गते) रामारोशन गाउँपालिका–७ निवासी ३५ वर्षीय सन्तोष ऐडी र उनकी पत्नी झरना साउँदले “घर पुर्याइदिन्छु” भन्दै मोटरसाइकलमा ललाईफकाई अपहरण गरी लगेका थिए।
प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा चढाउने क्रममा किशोरीले रोइकराइ समेत गरेकी थिइन्। विद्यालय परिसरमै यस्तो घटना घटेपछि सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ।
घटनाबारे जानकारी पाउनासाथ जयगढ प्रहरी चौकीलाई खबर गरिएको भए पनि गैरजिम्मेवारपूर्ण जवाफ आएको पीडित परिवारको आरोप छ। बिहीबार साँझ नै प्रहरीलाई जानकारी गराइए पनि हालसम्म किशोरीको अवस्था अज्ञात रहेको परिवारले जनाएको छ।
अपहरण घटनामा संलग्न रहेको आरोपमा सन्तोष ऐडीकी पत्नी झरना साउँदलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी ओमप्रकाश खनालले अपहरणकारीको पहिचान भइसकेको र उनको खोजी कार्य तीव्र पारिएको जानकारी दिए।
हाल झरना साउँद प्रहरी नियन्त्रणमा रहे पनि उनका पति सन्तोष ऐडी र अपहरणमा परेकी किशोरीको अवस्था अज्ञात छ।
प्रहरीका अनुसार सुदूरपश्चिम प्रदेशका सम्पूर्ण प्रहरी युनिट तथा सम्बन्धित निकायहरू घटनाबारे सूक्ष्म अनुसन्धानमा जुटिरहेका छन्। सम्भावित सबै नाकामा निगरानी बढाइएको जनाइएको छ।
घटनापछि किशोरीको परिवारमा रुवाबासी छाएको छ भने विद्यालय जाने उमेरकी बालिकालाई विद्यालयकै परिसरबाट अपहरण गरिनुले अभिभावक र स्थानीयवासीमा भय र आक्रोश फैलिएको छ।



कागजपत्र |
