
कांग्रेसभित्रको द्वन्द्व समाधानका उपाय खोज्दै शेखर कोइराला
काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र चुलिँदै गएको पछिल्लो विवादका विषयमा आफूनिकट नेताहरूसँग छलफल गरेका छन्।
शनिबार काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापति तथा कार्यकर्ताहरूसँग अन्तरक्रिया गर्दै उनले महाधिवेशन र पार्टीको वर्तमान अवस्थाबारे राय–सुझाव संकलन गरेका हुन्।
विशालनगरस्थित सम्पर्क कार्यालयमा आयोजित छलफलमा मुलुकमा देखिएको समग्र संकट, पार्टीभित्रको द्वन्द्वको सुरक्षित अवतरण र विद्यमान विषम परिस्थितिबाट निकास कसरी खोज्ने भन्ने विषयमा गहन विचार–विमर्श भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए।
उनका अनुसार केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेका निर्णय र महामन्त्रीहरूले अघि सारेको विशेष महाधिवेशनको प्रस्तावलाई कसरी समन्वय गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल केन्द्रित रह्यो।
त्यसैगरी आगामी आम निर्वाचनमा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने रणनीति र पार्टीभित्र देखिएका फरक धारलाई एउटै सूत्रमा बाँध्ने उपायबारे समेत सहभागीहरूबीच विचार आदान–प्रदान भएको थियो।
छलफलमा सहभागी नेताहरूले अनुशासन समितिबाट कारबाही मिनाहा पाएका व्यक्तिहरूलाई पुनः पूर्ववत् जिम्मेवारीमा कायम गर्ने व्यवस्था मिलाउन नेतृत्वले पहल गर्नुपर्ने माग समेत गरेका छन्।



कागजपत्र |
