
देउवापछि २५ केन्द्रीय सदस्यले गरे महामन्त्रीद्वयसँग संवाद
काठमाडौं – नेपाली कांग्रेसका २५ जना केन्द्रीय सदस्यले पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका छन्। पार्टीभित्र बढ्दै गएको असन्तुष्टि र महाधिवेशनसम्बन्धी बहसका बीच उनीहरूले कांग्रेसलाई कुनै पनि हालतमा विभाजनतर्फ नलैजान आग्रह गरेका छन्।
शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर निस्केलगत्तै ती केन्द्रीय सदस्यहरू महामन्त्रीद्वयसँग छलफलमा जुटेका हुन्। भेटमा पार्टीको आन्तरिक एकता, संगठनको भविष्य र महाधिवेशनसम्बन्धी विषयमा गम्भीर कुराकानी भएको बताइएको छ।
छलफलमा सहभागी केन्द्रीय सदस्यहरूले विशेष वा नियमित महाधिवेशनको नाममा पार्टीलाई विभाजित गर्ने गतिविधि नगर्न अनुरोध गरेका थिए। केन्द्रीय सदस्य पुष्पा भुसालले उक्त भेटवार्ताबारे जानकारी दिँदै पार्टी कमजोर बनाउने वा फुटतर्फ लैजाने कुनै पनि कदम स्वीकार्य नहुने सन्देश महामन्त्रीद्वयलाई दिइएको बताइन्। ‘पार्टी फुटाउने हाम्रो मनसाय होइन, कांग्रेसलाई कमजोर बनाउने उद्देश्य पनि छैन भन्ने कुरा हामीले स्पष्ट रूपमा राख्यौँ,’ भुसालले भनिन्।



कागजपत्र |
