
लौकही घटनाः गोली चलाउने सशस्त्रका हवलदार नियन्त्रणमा
विराटनगर – सुनसरीको लौकही क्षेत्रमा भारतीय बजारबाट सामान लिएर नेपालतर्फ आउँदै गरेका एक सफारी चालकको मृत्यु हुने गरी गोली प्रहार गर्ने सशस्त्र प्रहरी बल (एपीएफ) का हवलदारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) वासुदेव घिमिरेले गोली प्रहारमा संलग्न हवलदारलाई नियन्त्रणमा लिइएको बताए।
घटनापछि सिर्जित तनाव र अनुसन्धान प्रक्रियाबारे जानकारी दिँदै सीडीओ घिमिरेले गोली चलाउने मुख्य व्यक्तिलाई नै नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको बताए।
घटनाको निष्पक्ष छानबिन सुनिश्चित गर्न सुनसरी प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता समेत रहेका डीएसपी चन्द्र खड्का र राष्ट्रिय अनुसन्धान विभागका एक अधिकृत सदस्य रहेका छन्।
सीडीओ घिमिरेका अनुसार समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाई सात दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।
भारतीय बजारबाट सामान ल्याउँदै आएका सफारी चालक विजय साहमाथि सशस्त्र प्रहरीले बिहीबार बिहान गोली प्रहार गरेको थियो। गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको थियो।
घटनापछि स्थानीयस्तरमा तनावको अवस्था सिर्जना भएको थियो भने प्रशासनले शान्ति–सुरक्षा व्यवस्थामा कडाइ गरेको छ।



कागजपत्र |
