
महामन्त्रीद्वयको विज्ञप्तिपछि देउवा नेताहरूसँगको छलफलमा
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन गरिएको भन्दै संयुक्त विज्ञप्ति जारी गरेपछि पार्टी सभापति शेरबहादुर देउवाले नेताहरूसँग छलफल तीव्र पारेका छन्।
बिहीबार साँझ विज्ञप्ति सार्वजनिक भएपछि सभापति देउवा महाराजगञ्जस्थित निवासमा पार्टीका वरिष्ठ नेताहरूसँग व्यक्तिगत तथा सामूहिक रूपमा छलफलमा जुटेका हुन्। छलफलमा इतर समूहका नेता डा. शेखर कोइराला, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, रमेश लेखकलगायत सहभागी छन्।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार महामन्त्रीद्वयले जारी गरेको विज्ञप्ति व्यक्तिगत निर्णय भएको र संस्थागत निर्णय नभएको स्पष्ट गरिएको छ। संस्थागत रूपमा निर्णय लिनका लागि पदाधिकारी बैठक र त्यसपछि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाउने तयारी भइरहेको उनले जानकारी दिए।
‘सभापति देउवा अहिले नेताहरूसँग अनौपचारिक छलफलमा हुनुहुन्छ। व्यक्तिगत तथा सानो समूहमा भेटघाट भइरहेको छ,’ प्रवक्ता महतले बताए।
महामन्त्री थापा र शर्माले बिहीबार जारी गरेको विज्ञप्तिमा केन्द्रीय कार्यसमितिको मंसिर १५ गतेको बैठकले तय गरेको नियमित महाधिवेशन कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्ने गरी स्थगित गरिएको उल्लेख छ।
तर संस्थापन पक्षले महामन्त्रीहरूलाई नियमित महाधिवेशन स्थगन गर्ने वा विशेष महाधिवेशन बोलाउने अधिकार नभएको दाबी गर्दै आएको छ। यस विषयमा औपचारिक निर्णय लिन कार्यसम्पादन समिति बैठक बोलाउने तयारी भइरहेको कांग्रेसले जनाएको छ।



कागजपत्र |
