
१५औँ महाधिवेशनमा पूर्णबहादुर खड्कालाई नै सहयोग गर्ने देउवाको संकेत
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति तथा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई नै सहयोग गर्ने स्पष्ट संकेत दिएका छन्। मंगलबार आफ्नै निवासमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा देउवाले अब आफू विधानअनुसार सभापतिको उम्मेदवार बन्न नमिल्ने भन्दै उत्तराधिकारको जिम्मेवारी खड्कातर्फ संकेत गरेका हुन्।
हाल राजनीतिक विश्राममा रहेका देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई दिइसकेका छन्। यद्यपि निर्वाचन आयोगलगायत संवैधानिक निकायमा जाने आधिकारिक कागजातमा भने देउवाकै हस्ताक्षर चलिरहेको छ। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको समानुपातिक बन्दसूचीमा पनि उनले मंगलबार बिहान ५ बजे हस्ताक्षर गरेका थिए।
देउवाले पार्टीभित्र सभापतिका आकांक्षीका रूपमा पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता डा. शेखर कोइरालाको नाम चर्चामा रहेको स्वीकार गरे। तर उनले स्पष्ट रूपमा भने, “मैले कार्यवाहक बनाएको मान्छेलाई नै सहयोग गर्छु।”
चुनावअघि महाधिवेशन गर्नुपर्ने मागबारे देउवाले प्रतिस्पर्धाको असर आम निर्वाचनमा पर्न सक्ने भन्दै सावधानी अपनाउनुपर्ने बताए। विशेष महाधिवेशनको प्रस्तावलाई भने उनले अस्वीकार गरे।
देउवाले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा आफू डडेल्धुराबाटै प्रत्यक्षतर्फ उम्मेदवार बन्ने घोषणा गरे। देश चुनावतर्फ होमिए पनि सुरक्षाको प्रत्याभूति भने अझै कमजोर रहेको उनको टिप्पणी छ।
भदौ २४ को जेन–जी आन्दोलनका क्रममा आफूलाई नेपाली सेना र जेन–जीले जोगाएको उल्लेख गर्दै देउवाले आन्दोलनमा घुसपैठ भएको आशंका पनि व्यक्त गरे।



कागजपत्र |
