कांग्रेस हार्न सक्छ, तर निर्वाचनबाट भाग्दैन : डा. शेखर कोइराला


काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण सरकारले तयार पार्न नसकेको भन्दै गम्भीर प्रश्न उठाएका छन्।

मंगलबार मोरङ समाज काठमाडौंको २६औं वार्षिक साधारण सभामा सम्बोधन गर्दै उनले मुलुकमा निर्वाचन हुने अवस्था तयार छ कि छैन भन्ने विषय अहिले विशेष रूपमा चुनौतीपूर्ण रहेको बताए। उनले भने, “सबै राजनीतिक दलहरूले समानुपातिकतर्फको सूची बुझाइसके पनि शान्ति–सुरक्षाको अवस्था कमजोर रहँदा निष्पक्ष र भयरहित निर्वाचन सम्भव छ कि छैन भन्ने प्रश्न अझै खुला छ।”

डा. कोइरालाले कांग्रेस निर्वाचनबाट भाग्ने पार्टी नभएको र लोकतान्त्रिक मूल्यको पक्षमा हार स्वीकार गर्न तयार रहेको भए पनि सरकारले निर्वाचनका लागि आवश्यक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

उनले प्रहरी प्रशासनको मुख्य जिम्मेवारी निर्वाचनको शान्ति–सुरक्षा कायम राख्न रहेको उल्लेख गर्दै हाल प्रहरीको मनोबल अत्यन्तै खस्किएको बताए। साथै सेनाले निर्वाचन गराउने छैन भन्नेकुरा सबैले बुझ्नुपर्ने धारणा राखे।

२०६४ सालको पहिलो संविधान सभा निर्वाचनको अनुभव स्मरण गर्दै उनले गम्भीर अपराधमा संलग्न कैदीहरू फरार रहेको र हजारौँ हातहतियार अझै समाजमा रहेको हुँदा भयरहित वातावरणमा निर्वाचन सम्भव हुनेमा शंका व्यक्त गरे।

डा. कोइरालाले २३ भदौमा भएको जेनजी आन्दोलनमाथि प्रहरी दमनको निन्दा गर्दा पनि पर्याप्त नभएको बताए। तर २४ भदौमा भएको विध्वंसलाई सामान्य रूपमा हेर्न नहुने उल्लेख गर्दै सिंहदरबारदेखि प्रादेशिक प्रशासनिक संरचना र नेताका निवासहरू पनि क्षति पु-याइएको बताए। उनले प्रश्न गरे, “के यो केवल कांग्रेस–एमाले सरकार हटाउनको लागि मात्र गरिएको हो ?”

प्रतिक्रिया