कस्मेटिक युवाको भीडमा वैचारिक जेन्जीको छनोट : कांग्रेसले सही संकेत दियो ?


काठमाडाैं – नेपाली कांग्रेसले समानुपातिक उम्मेदवार छनोटमार्फत लामो समयदेखि उठ्दै आएको एउटा गम्भीर प्रश्नलाई यसपटक प्रत्यक्ष रूपमा सम्बोधन गरेको देखिन्छ— युवा भनेको उमेरले कि चेतनाले ?

राजनीतिका भट्टीमा दशकौँदेखि खारिएका, निरन्तर चिनजान र पहुँचको घेराभित्र घुमिरहेकालाई “नयाँ”को नाममा अघि सार्ने प्रवृत्तिबाट अलग हुँदै कांग्रेसले ३५ वर्षमुनिका वैचारिक रूपमा सशक्त युवा नेतृहरूलाई समानुपातिक सूचीमा समेट्नु सकारात्मक संकेत हो।

सोलुखुम्बुको सिरेटा छिचोल्दै राजनीतिमा केही गर्ने हुटहुटी बोकेर सक्रिय गीता इन्द्र गुरुङ र इलामकी प्रेमिका राणा मगरलाई समानुपातिक उम्मेदवार बनाउने निर्णय केवल नाम समेट्ने प्रक्रिया होइन, कांग्रेसको सोचमा आएको आंशिक परिवर्तनको प्रतिबिम्ब हो। दुवै नेतृको संसद प्रवेश पक्का हुने देखिँदा, कांग्रेसभित्र जेंजी पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने बहसलाई पनि बल पुगेको छ।

गीताइन्द्र गुरुङ दुर्गम भेग, सीमित स्रोत र सामाजिक अवरोधका बीच संगठन निर्माण, महिला सहभागिता र वैचारिक बहसमा निरन्तर सक्रिय रहँदै आएकी नेतृ हुन्। उनी पदको खोजीभन्दा जिम्मेवारीको अभ्यासमा विश्वास गर्ने पुस्ताको प्रतिनिधि मानिन्छिन्। त्यस्तै, प्रेमिका राणा मगर इलामको राजनीतिक भूमिमा युवामाझ स्थापित, सामाजिक न्याय, समावेशिता र लोकतान्त्रिक मूल्यप्रति स्पष्ट धारणा राख्ने नेतृका रूपमा परिचित छिन्।

कांग्रेसले पछिल्ला वर्षहरूमा “नयाँ अनुहार, तर पुरानै सोच” भन्ने कटु आलोचना खेप्दै आएको तथ्य कसैबाट लुकेको छैन। समानुपातिक सूची प्रायः व्यवस्थापनको साधन बन्ने, संगठनभन्दा नजिकका अनुहार अटाउने माध्यम बन्ने आरोप बारम्बार लाग्दै आएको छ। यही पृष्ठभूमिमा गुरुङ र राणा मगरको छनोटलाई केवल व्यक्तिगत सफलता होइन, प्रवृत्तिगत सुधारको संकेतका रूपमा हेर्नुपर्ने हुन्छ।

तर यहाँ एउटा प्रश्न अझै बाँकी छ— के यो अपवाद मात्र हो कि सुरुवात ?

यदि कांग्रेसले समानुपातिक प्रणालीलाई सचेत रूपमा भोलिको नेतृत्व तयार गर्ने माध्यम बनाउने हो भने, यस्ता छनोटहरू निरन्तर हुनुपर्छ। नत्र भने केही अनुहार अघि सारेर प्रणालीगत कमजोरी छोप्ने प्रयासले मात्र पार्टीको विश्वसनीयता फर्काउन सक्दैन।

फेरि पनि, यसपटक कांग्रेसले कम्तीमा सही दिशातर्फ पाइला चालेको छ।

उमेरले होइन, विचारले युवा; नाराले होइन, अभ्यासले सक्षम— यही मान्यतामा आधारित राजनीति कांग्रेसभित्र संस्थागत हुन सके, जेंजी पुस्ताले पार्टीलाई मात्र होइन, संसदीय राजनीतिलाई पनि नयाँ उचाइमा पुर्‍याउन सक्छ।

गीता इन्द्र गुरुङ र प्रेमिका राणा मगरको उम्मेदवारी त्यस दिशातर्फको सावधान तर आशालाग्दो संकेत हो।

प्रतिक्रिया