
रास्वपालाई आशिका तामाङको प्रश्न– समानुपातिक भनेको नेपोकिड उत्पादन गर्ने व्यवस्था हो ?
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिक उम्मेदवार सूचीप्रति सामाजिक अभियन्ता आशिका तामाङले कडा असन्तुष्टि व्यक्त गरेकी छन्। उनले समानुपातिक प्रणालीको मूल मर्ममाथि नै प्रहार गर्दै सामाजिक सञ्जालमार्फत आक्रोश पोखेकी हुन्।
आशिकाले रास्वपाको समानुपातिक सूची सार्वजनिक भएपछि फेसबुकमा लेखेकी छन् कि समानुपातिक व्यवस्था पिछडिएका, अल्पसंख्यक वर्ग र राज्यको नीति निर्माण प्रक्रियाबाट बाहिर परेका समुदायलाई प्रतिनिधित्व गराउनका लागि बनाइएको हो। तर, व्यवहारमा भने ‘भ्रष्ट ठेकेदार र बिचौलियाका छोराछोरी’ सांसद र मन्त्री बन्ने माध्यममा सीमित हुँदै गएको उनको आरोप छ।
उनको फेसबुक पोस्टमा लेखिएको छ, “समानुपातिक भनेको के हो र? पिछडिएको अल्पसंख्यक वर्ग, क्षेत्र जहाँ राज्यको नीति निर्माण पुग्न सकेन, उनीहरूका लागि छुट्टाइएको कोटामा भ्रष्ट ठेकेदारको छोरा, बिचौलियाको छोराछोरी सांसद र मन्त्री हुने भए नेपोकिड विरुद्धको ७३ जना जेन्जी भाइबहिनीले राज्यलाई दिएको आहुती र बलिदान आज यही दिन देख्न हो?”
आशिकाको यो प्रतिक्रिया रास्वपाले बुझाएको समानुपातिक बन्दसूचीसँग जोडेर आएको हो। रास्वपाको सूचीमा ७७ जिल्लामध्ये ४४ जिल्ला पूर्ण रूपमा छुटेका छन् भने सीमित जिल्लाबाट ठूलो संख्यामा उम्मेदवार समावेश गरिएको छ। विशेष गरी चितवन र मोरङ जस्ता जिल्लाको वर्चस्व देखिएको सूचीले भौगोलिक तथा सामाजिक समावेशितामाथि प्रश्न उठाएको छ।



कागजपत्र |
