
रास्वपाको समानुपातिक सूचीमा चितवनका मात्रै २१ जना, अधिकांश जिल्ला छुटे
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा अधिकांश जिल्लाको प्रतिनिधित्व छुटाएको पाइएको छ।
सोमबार रास्वपाले निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार समानुपातिक उम्मेदवारको सूचीमा सबैभन्दा धेरै चितवन जिल्लाका व्यक्तिहरू समेटिएका छन्। पार्टीको सूचीमा चितवन जिल्लाबाट मात्रै २१ जना उम्मेदवार परेका छन्। तर, ७७ जिल्लामध्ये ४४ जिल्ला भने समानुपातिक सूचीमा पूर्ण रूपमा छुटेका छन्।
यसैगरी, दोस्रो धेरै प्रतिनिधित्व मोरङ जिल्लाको रहेको छ। मोरङबाट १५ जना उम्मेदवार समानुपातिक सूचीमा समावेश भएका छन्।
सिरहा, सप्तरी, काठमाडौं र सुनसरी जिल्लाबाट समानुपातिक सूचीमा ५–५ जनाको प्रतिनिधित्व रहेको छ। त्यस्तै, ललितपुर र महोत्तरीबाट ४–४ जना तथा भक्तपुर र धनुषाबाट ३–३ जना उम्मेदवार समावेश भएका छन्।
प्राप्त विवरणअनुसार सूचीमा समावेश ८ जना उम्मेदवारको नागरिकता जारी गरिएको जिल्ला भने खुलाइएको छैन। उनीहरूको विवरणमा नागरिकता जारी जिल्ला खाली राखिएको देखिन्छ।
प्रदेशगत रूपमा हेर्दा रास्वपाको समानुपातिक सूचीमा कोशी प्रदेशका ४ जिल्ला, मधेश प्रदेशका ३ जिल्ला, बागमती प्रदेशका ७ जिल्ला, गण्डकी प्रदेशका ७ जिल्ला, लुम्बिनी प्रदेशका ८ जिल्ला, कर्णाली प्रदेशका ७ जिल्ला र सुदूरपश्चिम प्रदेशका ८ जिल्लाबाट कुनै पनि प्रतिनिधित्व हुन सकेको छैन।



कागजपत्र |
