
डा. कोइरालाको नेतृत्वमा खाेलिएकाे बहुविशिष्ट बाल अस्पताल सञ्चालनमा
काठमाडौं – वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा बनाइएको बहुविशिष्ट बाल अस्पताल सञ्चालनमा आएको छ। बालबालिकाको स्वास्थ्य सेवामा क्रान्तिकारी परिवर्तन ल्याउने उद्देश्यले खोलिएको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच)ले आइतबारबाट ओपीडी सेवा सुरु गरेको छ।
बुढानीलकण्ठ नगरपालिका–७ मा अवस्थित यस अस्पतालमा दुई हप्ताभित्र इन्डोर सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। अस्पतालमा बालरोग विशेषज्ञ डाक्टरहरूद्वारा परामर्श सेवा, एक्स-रे, ईसीजी, इको, अल्ट्रासाउन्ड र प्रयोगशाला परीक्षणसहित सबै डायग्नोस्टिक सुविधा उपलब्ध गराइएको छ।
हाल ५० भन्दा बढी बेडको व्यवस्था गरिएको अस्पताललाई ६ महिनाभित्र १०० बेड र एक वर्षभित्र २०० बेडमा विस्तार गर्ने लक्ष्य लिइएको छ।
डा. कोइरालाले काठमाडौंमा केन्द्रीय अस्पतालसहित सातै प्रदेशमा स्याटेलाइट सेन्टर स्थापना गर्ने महत्वाकांक्षी योजना अघि बढाएका छन्। यस क्रममा पहिलो स्याटेलाइट सेन्टर कोशी प्रदेश, दमकमा नेपाल रेडक्रस सोसाइटीको भवनबाट सञ्चालनमा आएको छ।
केन्द्रीयस्तरमा २०० बेडको अस्पताल र अन्य प्रदेशमा आवश्यकतानुसार ५०–१०० बेडको अस्पताल निर्माण गर्ने लक्ष्य रहेको छ। स्याटेलाइट सेन्टरहरूमा पनि आईसीयू, एनआईसीयू, पीआईसीयू, जनरल केयर र सर्जिकल केयर सुविधा उपलब्ध हुनेछन्। अत्यन्त जटिल र मल्टिस्पेसियालिटी उपचार आवश्यक परेमा बिरामीहरूलाई काठमाडौंको केन्द्रीय अस्पतालमा पठाउने व्यवस्था गरिएको छ।
डा. कोइरालाले काठमाडौं र झापाका अस्पताललाई मोडल बनाएर अन्य प्रदेशमा बाल अस्पताल फैलाउने लक्ष्य राखेका छन्।



कागजपत्र |
