
बालेन र बाबुरामबिच के भयो कुराकानी ?
काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विचार र एजेन्डामा आधारित नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्। दल गठनको सम्भावनासहित वैकल्पिक राजनीतिबारे छलफल गरिरहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेट गरेर फर्किएपछि डा. भट्टराईले यस्तो धारणा सार्वजनिक गरेका हुन्।
ललितपुरको ज्वागलस्थित बालेन शाहका सहयोगी कुमार बेनको निवासमा भएको भेटपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै डा. भट्टराईले वैकल्पिक राजनीतिलाई बलियो बनाउने अभियानमा आफू पछिल्लो १० वर्षदेखि निरन्तर लागिरहेको बताए। “मेरो १० वर्षदेखिको सपना हो—नयाँ र वैकल्पिक शक्ति सबै मिल्नुपर्छ,” उनले भने, “यसै विषयमा परामर्श गर्न बालेनजीले बोलाउनुभएको थियो, त्यसैले म यहाँ आएको हुँ। विचार र एजेन्डामा सबै मिल्नुपर्छ, सबै एक भएर जानुपर्छ।”
डा. भट्टराईका अनुसार भेटमा उनले बालेन शाहलाई व्यक्तिगत वा समूहगतभन्दा पनि साझा एजेन्डामा आधारित राजनीतिक सहकार्यतर्फ जान सुझाव दिएका छन्। “म सधैं नयाँ र वैकल्पिक शक्ति सबै एक भएर जानुपर्छ भन्ने पक्षको मान्छे हुँ,” उनले थपे, “यही विषयमा छलफल भयो।”



कागजपत्र |
