शान्तिपूर्ण निर्वाचन भए एमालेले बहुमत ल्याउँछ : ओली


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण वातावरणमा निर्वाचन भए एमाले जनताबीच गएर बहुमत ल्याउन तयार रहेको बताएका छन्।

बिहीबार काठमाडौंमा राष्ट्रिय महाधिवेशनमा खटिएका स्वयंसेवकहरुलाई सम्मान र प्रमाणपत्र वितरण गर्दै अध्यक्ष ओलीले आफूहरु प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा भए पनि निर्वाचन शान्तिपूर्ण ढंगमा हुने भए त्यसको सामना गर्न तयार रहेको बताए।

ओलीले भने, “हामी चुनावविरोधी छैनौं, तर मुलुकमा त्रास र असुरक्षा भित्र निर्वाचनको वातावरण नहुने अवस्था छैन। जेनजीका नाममा त्रास सिर्जना गर्ने प्रयास भइरहेको छ, जसबाट देशलाई पछाडि फर्काउने पक्षहरु फाइदा उठाउन खोजिरहेका छन्।”

उनले जेनजी आन्दोलनमा सुरक्षाकर्मीले परिस्थिति अनुसार निर्णय गर्ने अधिकार पाएको र तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीको बयान लिन खोज्नु कानुन विपरीत रहेको उल्लेख गरे। साथै, देशको राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठाउन सह्य नहुनेमा जोड दिए।

अध्यक्ष ओलीले महाधिवेशनमा खटिएका युवाहरूको अनुशासन, मर्यादा र जिम्मेवारीको उदाहरण प्रस्तुत भएको र उनीहरूमा कुनै प्रकारको दुर्व्यसन नभएको बताए। उनले भने, “हाम्रा युवाहरूमा दुर्व्यसन देखिएन, यो हाम्रो पङ्क्तिले देखाएको आदर्श हो। यदि मेरो भनाइ मन नपरेर इख मान्दै दुर्व्यसनमा रहेका व्यक्तिहरूले त्यसलाई त्यागेमा म अत्यन्त खुसी हुनेछु। युवाहरूको सकारात्मक आचरणले देशको भविष्य सुरक्षित हुन्छ।”

ओलीले नेपाल बहुलतामा आधारित समाज भएको र बहुलता तथा विविधता केवल सामाजिक मात्र नभई भौगोलिक, प्राकृतिक र जैविक यथार्थ पनि भएको बताए। उनले भने, “यही विविधताले नेपाललाई विश्वले ‘इकोसिस्टम’को सुन्दर नमुनाका रूपमा चिन्ने आधार दिएको छ। विविधता र एकतालाई खलबलाउने प्रयास भए देशमा नकारात्मक असर पर्छ।”

अध्यक्ष ओलीले युवाहरूलाई देशको विकासमा योगदान दिन र सकारात्मक व्यवहार अपनाउन आह्वान गरेका छन्।

प्रतिक्रिया