सर्वपक्षीय सरकारको माग गर्दै जेनजी सडकमा, माइतीघरमा तनाव


काठमाडौं-  काठमाडौंको माइतीघर मण्डलामा भेला भएका जेनजी आन्दोलनकारीलाई प्रहरीले तितरबितर पारेको छ । प्रशासनको अनुमति नलिई प्रदर्शन गरिएको भन्दै प्रहरीले हस्तक्षेप गर्दा केही युवालाई नियन्त्रणमा लिइएको हो ।

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा, सर्वपक्षीय सरकार गठन, र सुशासन सुनिश्चित नभएसम्म चुनाव नगर्नुपर्ने माग राख्दै जेनजी ‘संयुक्त आन्दोलन’ को नाममा युवाहरू माइतीघरमा प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनको अगुवाइ मिराज ढुंगानाले गरेका थिए भने आन्दोलनमा रविकिरण हमाल, निकोलस भुसाल लगायतका युवाहरूको सक्रिय सहभागिता रहेको थियो ।

प्रदर्शनकारीहरूले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो’ लेखिएका प्लेकार्ड बोकेर सरकारविरुद्ध नाराबाजी गरेका थिए । यसै क्रममा जेनजी आन्दोलनका क्रममा घाइते भएका केही व्यक्ति पनि माइतीघरमा उपस्थित भएका थिए ।

तर, कार्यक्रम प्रशासनको पूर्वस्वीकृति बिना गरिएको भन्दै प्रहरीले आन्दोलनकारीलाई माइतीघरबाट हटाउन खोज्दा स्थिति तनावपूर्ण बनेको थियो । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल समेत भएको थियो । अवस्था नियन्त्रणमा लिन प्रहरीले केही युवालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी नियन्त्रणमा पर्नेहरूमा निकोलस भुसाल पनि रहेका छन् ।

 

 

प्रतिक्रिया