जेनजीसँगै नयाँ शक्तिहरू एकजुट हुन्छन् : रवि लामिछाने


चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेन–जी पुस्ता र परिवर्तन चाहने नयाँ राजनीतिक शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्। शनिबार भरतपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले व्यक्तिगत पद र लाभभन्दा देश र पुस्ताको भविष्य ठूलो भएको उल्लेख गर्दै आवश्यक परे आफू सबै किसिमको त्याग गर्न तयार रहेको बताए।

लामिछानेले आफू एक चुनावका लागि होइन, समग्र पुस्ताको भविष्य सुनिश्चित गर्न राजनीतिमा आएको स्पष्ट पारे। “सिंगो पुस्ताको भविष्य नबनुन्जेल मिल्ने हो भने मिलौं, नभए नमिलौं,” भन्दै उनले सत्ता वा पद आफ्नो प्राथमिकतामा नरहेको जिकिर गरे।
उनले जेन–जी पुस्ताको भूमिकाको प्रशंसा गर्दै भने, “हामीले त ०८४ कु¥यौं, तर जेन–जीले ०८२ मै बजाइदियो।” संसद र सडक दुवै माध्यमबाट परिवर्तन सम्भव रहेको उल्लेख गर्दै उनले युवाहरूको चेतना र सक्रियताले देशलाई निकास दिने विश्वास व्यक्त गरे।

लामिछानेका अनुसार पार्टीभित्र र बाहिर संवाद जारी छ र परिवर्तनका लागि मिल्नुपर्नेहरू अन्ततः मिलेरै अघि बढ्नेछन्। “देश बन्नुपर्छ, व्यक्ति बन्नु ठूलो कुरा होइन,” भन्दै उनले आफूलाई त्यागको पहिलो पंक्तिमा राखेको बताए।

जेन–जी आन्दोलनका क्रममा भौतिक संरचना क्षतिग्रस्त भए पनि त्यसभन्दा ठूलो क्षति युवाहरूको सपना जलेकोतर्फ संकेत गर्दै उनले ती सपनालाई पुनर्जीवित गर्ने जिम्मेवारी सबैको भएको बताए। जेन–जीसँगै आफू पनि संघर्षमा उभिने प्रतिबद्धता उनले दोहोर्‍याए।

प्रतिक्रिया