
निष्पक्ष निर्वाचनका लागि वातावरण बनाउन सरकारलाई शेखरको आग्रह
काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले पूर्वप्रधानमन्त्रीलाई उपत्यका बाहिर जान नदिएर कस्तो खालको निर्वाचन गराउन खोजेको हो भन्दै गम्भीर प्रश्न उठाएका छन्। मोरङको विराटनगर महानगरपालिका–६ मा शनिबार आयोजित पार्टी कार्यक्रममा बोल्दै उनले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थान हदप्रति आपत्ति जनाएका हुन्।
पूर्वप्रधानमन्त्री भइसकेको, ठूलो राजनीतिक दलको प्रमुख व्यक्तिलाई स्वतन्त्र रूपमा देशभर हिँडडुल गर्न नदिँदा निष्पक्ष र विश्वसनीय निर्वाचन सम्भव नहुने कोइरालाको भनाइ थियो। ‘देशको पूर्वप्रधानमन्त्रीलाई उपत्यका बाहिर जान नपाइने भन्ने सरकार अर्कोतिर चुनाव गराउँछु भन्छ,’ उनले आश्चर्य व्यक्त गर्दै भने, ‘यो कस्तो चुनाव गराउन खोजिएको हो ?’
नेता कोइरालाले नेपाली कांग्रेस विगतमा जस्तै आगामी निर्वाचन पनि सबै राजनीतिक दलको सहभागितामा, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न होस् भन्ने पक्षमा रहेको बताए। कांग्रेसले निर्वाचनमा जाने निर्णय गरिसकेको उल्लेख गर्दै उनले लोकतान्त्रिक प्रक्रियामार्फत जनताको मतबाट सरकार गठन हुनुपर्नेमा जोड दिए।
उनले निर्वाचन सफल बनाउन सरकार आफैंले आवश्यक वातावरण तयार गर्नुपर्ने बताए। हाल पनि पाँच हजारभन्दा बढी कैदी फरार रहेको, सशस्त्र समूह सक्रिय रहेको र सुरक्षाकर्मीका सयौँ हतियार लुटिएको अवस्थाप्रति सरकार गम्भीर नदेखिएको आरोप उनले लगाए। यस्ता समस्याको समाधान नगरी चुनावको कुरा गर्नु केवल औपचारिकता मात्र हुने उनको भनाइ थियो।
डा. कोइरालाले कानूनको शासन, सुरक्षा व्यवस्था र राजनीतिक स्वतन्त्रता सुनिश्चित नगरेसम्म निष्पक्ष निर्वाचन सम्भव नहुने उल्लेख गर्दै सरकारलाई जिम्मेवार बन्न आग्रह गरे।



कागजपत्र |
