जेनजी आन्दोलनका घाइतेलाई मासिक भत्ता दिइने, कसलाई कति ?


काठमाडौं- सरकारले २३ र २४ भदौमा भएको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। घाइतेहरूको अपाङ्गता र घाइतेपनको गम्भीरताको आधारमा आर्थिक सहायता प्रदान गरिनेछ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, जेनजी आन्दोलनमा घाइतेहरूलाई राहत उपलब्ध गराउने कार्यविधि–२०८२ कार्यान्वयनमा आएको छ। यस अन्तर्गत, स्वास्थ्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित प्राविधिक समितिले घाइतेहरूलाई साधारण, मध्यम, गम्भीर र अति गम्भीरमा विभाजन गर्ने व्यवस्था राखिएको छ।

कार्यविधिअनुसार, मध्यम घाइतेले मासिक ४ हजार, गम्भीर घाइतेले मासिक ९ हजार र अति गम्भीर घाइतेले मासिक १८ हजार भत्ता पाउनेछन्। साधारण घाइतेका लागि नगद राहत व्यवस्था गरिएको छैन। साथै, यो भत्ता महँगीको आधारमा पुनरावलोकन गर्न सकिने प्रावधान कार्यविधिमा राखिएको छ।

जिल्ला प्रशासन कार्यालयहरूले घाइतेहरूको सिफारिस गर्नेछन् भने स्वास्थ्य मन्त्रालयले प्रमाणीकरण गर्नेछ। हालसम्म, स्वास्थ्य मन्त्रालयको संयोजकत्वमा भएको वर्गीकरणमा काठमाडौं, कास्की र चितवनका १८३ जनालाई वर्गीकृत गरिएको छ।

 

प्रतिक्रिया