
सभापति देउवासँग कोइरालाको भेट, के भयो कुराकानी ?
काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र सभापति शेरबहादुर देउवासँग मंगलबार भेटवार्ता भएको छ। पार्टीभित्र क्रियाशील सदस्यता वितरण र केन्द्रीय अनुशासन समितिको कारबाही सिफारिस फुकुवालगायत विषयमा छलफलको लागि कोइराला केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालसहित देउवा निवास महाराजगन्ज पुगेका थिए।
भेटमा कोइरालाले क्रियाशील सदस्यता व्यवस्थापन समितिले बिना सिरियल नम्बरका फाराम जिल्ला–जिल्लामा पठाएको विषय उठाएका थिए। उनका अनुसार, यसले पार्टीभित्र देशैभरि जटिल समस्या सिर्जना गरेको छ। उनले ती फाराम तत्काल फिर्ता बोलाएर नयाँ फाराम पठाउन देउवासँग निर्देशन दिन आग्रह गरे। यसबारे कोइरालाको सचिवालयले पनि जानकारी दिएको छ।
कोइरालाले ती बिना नम्बर फारामका आधारमा महाधिवेशन प्रक्रिया अघि बढाउन नहुने स्पष्ट धारणा राखे। साथै, २०७९ सालको निर्वाचन गठबन्धनको समयमा भएका कुरालाई लिएर हाल अनुशासन कारबाही नगर्नुपर्ने र सबैको कारबाही फुकुवा गरेर पार्टी महाधिवेशन र आगामी आमनिर्वाचनमा खटिन निर्देशन दिनुपर्ने सुझाव पनि उनले सभापति देउवासँग राखे।



कागजपत्र |
