एमाले महाधिवेशन आजबाट


काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने जानकारी दिए। उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा २०० भन्दा बढी कला, संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिने तयारी गरिएको छ।

महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाललगायतका विभिन्न १६ वटा पार्टीका अध्यक्ष एवं प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ।

एमाले महाधिवेशनको बन्दसत्र भने मंसिर २८ र २९ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिनेछ। एमालेको अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धा गर्दैछन्। ओली तेस्रो पटक अध्यक्ष बन्ने तयारीमा छन् भने पोखरेल पहिलो पटक ओलीविरुद्ध अध्यक्षमा उत्रिएका छन्। उनीहरू दुवै पदाधिकारीसहितका पदमा समूहगत रूपमा उम्मेदवार उठाउने तयारीमा छन्।

प्रतिक्रिया