
आज एनपीएलको फाइनल, सुदूरपश्चिम र लुम्बिनी भिड्दै
काठमाडौं- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)को उपाधिको लागि आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल दिउँसो ३:३० बजे शुरू हुनेछ।
लुम्बिनी नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल र सुदूरपश्चिममा राष्ट्रिय टोलीका उप-कप्तान दीपेन्द्र सिंह ऐरीको कप्तानीमा मैदान उत्रिनेछ। दुवै टोली आजको खेल जित्दै उपाधि आफ्नो पोल्टामा पार्न चाहन्छन्। साविक विजेता जनकपुर बोल्ट्स लिगचरणबाटै बाहिरिएपछि आज एनपीएलले नयाँ विजेता पाउने निश्चितनै छ। गत संस्करण सुदूरपश्चिमले जनकपुर बोल्ट्ससँग फाइनलमा ५ विकेटले पराजित हुँदै उपविजेतामा चित्त बुझाएको थियो।
दुवै टोली फाइनल अगाडि उत्कृष्ट लयमा रहेका छन्। सुदूरपश्चिमले प्रतियोगितामा एकमात्र हार बेहोरेको छ भने लुम्बिनीले पछिल्लो पाँच खेलमा सतप्रतिशत जित निकालेको छ। सुदूरपश्चिम लिगचरणको शीर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको थियो भने लुम्बिनीले चौथो स्थानमा रहँदै इलिमिनेटरमा स्थान बनाएको थियो। फाइनलमा पुग्न दुवै टोलीले विराटनगर किंग्सलाईनै पराजित गरेका हुन्।
सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै लगातार दोस्रो सिजन फाइनलमा स्थान सुरक्षित बनाउँदा लुम्बिनीले ४० रनको जित हासिल गरेको थियो। सुदूरपश्चिमले जारी सिजन एकमात्र हार बेहोर्दा लुम्बिनीले तीन खेल विपक्षीलाई सुम्पिएको छ।
दुवै टोलीका कप्तानले उपाधि जित्नेमा विश्वस्त रहेको बताएका छन्। सुदूरपश्चिमका कप्तान एरीले गत वर्षको फाइनलमा पराजित भएपनि यसपटक कमि कमजोरी सुधार गर्दै च्याम्पियन बन्ने बताएका छन् भने लुम्बिनीका कप्तान पौडेलले आफूहरु च्याम्पियन बन्न सबै पक्षबाट तयार रहेको दाबी गरेका छन्। एनपीएलको विजेताले एक करोड १० लाख रुपैयाँ, उपविजेताले ५१ लाख रुपियाँ, तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ र चौथो हुने टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।



कागजपत्र |
