
कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधिसभाको चुनाव नलड्ने
काठमाडाैं- नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नहुने भएका छन् । २०७९ सालमा बाजुराबाट प्रत्यक्ष निर्वाचित पाण्डेले चुनावी प्रतिस्पर्धा नगर्ने निर्णय गरेपछि उनको नाम पार्टीले सिफारिस गरेको छैन ।
गृहजिल्ला बाजुरा पुगेका पाण्डेले माघ ११ गते हुने राष्ट्रियसभा तथा फागुन २१ गते हुने प्रतिनिधिसभा दुवै निर्वाचनमा आफू उम्मेदवार नबन्ने स्पष्ट पारे। “म मन्त्रीपरिषद्को सदस्य थिएँ, आन्दोलनकारीका माग समयमै सम्बोधन हुन सकेन। त्यसको सामूहिक जिम्मेवारी म पनि लिन्छु,” पाण्डेले भने।
उनले यसपटक उम्मेदवार सिफारिस प्रक्रियामै पनि सहभागी नहुने, बाजुराबाट नयाँ उम्मेदवार अघि ल्याउन आफू अग्रसर हुने र पार्टीलाई संगठनात्मक रूपमा सबैभन्दा मजबुत बनाउनेतर्फ ध्यान केन्द्रित गर्ने घोषणा गरे।
महाधिवेशनमा उनले समन्वयकारी भूमिका निर्वाह गर्ने र पद विषयक निर्णय शीर्ष नेतृत्वसँग छलफल गरेर गर्ने बताएका छन्।पाण्डेले भने, “अब मेरो प्राथमिकता—पार्टीलाई वैचारिक रूपमा सुदृढ बनाउने, संगठनलाई सक्रिय बनाउने र योग्य नयाँ पुस्तालाई अघि बढाउने हो।”



कागजपत्र |
