रवि र छविको मुद्दा हेर्न नमिल्नेमा


बुटवल-  कात्तिक १३ गतेदेखि निरन्तर पेसी चढ्दै आएको रास्वपा सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको सहकारी ठगीसम्बन्धी मुद्दा आज पनि स्थगित गरिएको छ। न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा परेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले  जानकारी दिए।

कुँवरका अनुसार आजको पेसी न्यायाधीश सागर विष्टका आफन्त एक जना जाहेरवाला कानुन व्यवसायी परेको कारण स्थगित गरिएको हो। बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा संगठित अपराध आरोपमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको पेसी कात्तिक १३ गतेपछि लगातार सारिँदै आएको छ।

यसअघि दुई पटक रवि लामिछाने पक्षका कानुनी व्यवसायीले निवेदन दिएर पेसी सारिएको थियो भने गत बिहीबार सार्वजनिक बिदाका कारण सुनुवाइ रोकिएको थियो। कात्तिक १३ गते तोकिएको पेसी पनि छविलाल जोशी पक्षका कानुन व्यवसायीको निवेदनपछि स्थगित गरिएको थियो।

यसअघि न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले रवि लामिछाने र छविलाल जोशी दुबैको मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो।

प्रतिक्रिया