युवा र जेनजीको माग सम्बोधन गर्दै कांग्रेसले प्रेमिका रानामगरलाई अघि सार्‍यो


काठमाडौं-  नेपाल विद्यार्थी संघ (नेविसंघ) की युवा नेत्री प्रेमिका रानामगर इलाम क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ १ नम्बरमा सिफारिस भएकी छन्। यसलाई नेपाली कांग्रेसले युवाको आवाज र जेनजी पुस्ताको अपेक्षालाई संस्थागत रूपमा सम्बोधन गरेको महत्वपूर्ण निर्णयका रूपमा हेरिएको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलाम कांग्रेसले बुधबार सम्पन्न क्षेत्र नं. २ को बैठकबाट रानामगरलाई सर्वसम्मत रूपमा सिफारिस गरेको हो। लामो समयदेखि पार्टीभित्र उठ्दै आएको “युवालाई बोलाउने होइन, अगाडि ल्याउने” मागलाई यो निर्णयले व्यवहारमै पुष्टि गरेको कांग्रेसजनको भनाइ छ।

इलामको विकट गाउँमा जन्मिएर विद्यार्थी राजनीतिबाट यात्रारम्भ गरेकी रानामगर आज नेविसंघको केन्द्रीय राजनीतिमा सक्रिय छिन्। उनी भाषण, नारा वा सामाजिक सञ्जालमा सीमित नेतृ होइनन्; मैदानमा देखिने, संकटमा अग्रपंक्तिमा उभिने र युवाको मनोविज्ञान बुझ्ने नेतृत्वका रूपमा पहिचान बनाउँदै आएकी छन्।

गत महिना आएको बाढीका बेला रानामगर प्रभावित इलामेलीको घरदैलोमै पुगेर उद्धार तथा राहत वितरणमा सहभागी भइन्। सरकार पर्खेर बस्ने नभई, आवश्यक पर्दा आफैं अगाडि सर्ने उनको सक्रियताले जेनजी पुस्ताले खोजिरहेको “एक्सन ओरिएन्टेड राजनीति”को झल्को दिएको छ।

राजनीतिमा नयाँ पुस्ताको माग स्पष्ट छ- प्रतिनिधित्व, अवसर, पारदर्शिता र परिणाम। रानामगरको सिफारिसले कांग्रेसले यी मागलाई सुनेको मात्र होइन, निर्णयको केन्द्रमै युवालाई राखेको सन्देश दिएको छ।

पार्टीभित्र पुस्तान्तरण, विद्यार्थी राजनीतिबाट आएको नेतृत्व र सामाजिक दायित्व बोकेको राजनीति अगाडि ल्याउनु कांग्रेसको दीर्घकालीन रणनीतिक कदम भएको नेताहरूको भनाइ छ। यसले पार्टी र युवा पुस्ताबीचको दूरी घटाउने र जेनजीलाई सक्रिय राजनीतिमा जोड्ने विश्वास लिइएको छ।

प्रेमिका रानामगरको सिफारिस केवल एक व्यक्ति चयन मात्र होइन, यो कांग्रेसले युवा र जेनजीलाई भरोसा गरेको स्पष्ट संकेत हो।

प्रतिक्रिया