
नेपाली भू-भागमै छिरेर भारतीय प्रहरीले उठायो मेघराजलाई
वीरगञ्ज – आइतबार राति भारतीय सुरक्षा निकायका व्यक्तिहरू नेपाली भूभागमै प्रवेश गरी एक नेपाली नागरिकलाई जबरजस्ती नियन्त्रणमा लिएर भारततर्फ लगेको घटना सार्वजनिक भएको छ।
पक्राउ परेका व्यक्ति सखुवा प्रसौनी गाउँपालिका–५ खजुरिया निवासी ४० वर्षीय मेघराज साह हुन्। पछिल्लो समय उनी वीरगञ्ज महानगरपालिका–१३ राधेमाई टोलमा बस्दै आएका थिए।
परिवारका अनुसार राति करिब १० बजेतिर भारतीय नम्बर प्लेटको सेतो थार जिपमा सादा पोसाकका तीन व्यक्ति आए। आफूलाई भारतीय प्रहरी बताउँदै ती व्यक्तिहरूले मेघराजलाई जबरजस्ती गाडीमा चढाई भारततर्फ लगेका थिए।
स्रोतका अनुसार आफूलाई भारतीय प्रहरी दाबी गर्ने ती समूह पहिले साहको गाउँ खजुरिया पुगेका थिए। त्यहाँ उनले नभेटेपछि उनीहरू राति नै वीरगञ्ज–१३ स्थित उनको डेरामा पुगे र अपहरण शैलीमै लैजाने काम गरे। घटना हुँदा नेपाल प्रहरीको कुनै उपस्थिति नभएको प्रारम्भिक जानकारी आएको छ।
हालै भारतमा बरामद भएको ठूलो परिमाणको लागूऔषध प्रकरणसँग उनको नाम जोडिएको बताइएको छ। केही दिनअघि ५० किलोभन्दा बढी चरेससहित भारतमा एक व्यक्ति पक्राउ पर्दा दिएको बयानमा मेघराज साहको नाम आएको स्रोतले जनाएको छ। सोही आधारमा भारतीय पक्षले एकतर्फी कारबाही गरेको बुझिएको छ।
तर जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले भने घटनाबारे नेपाल प्रहरीलाई कुनै सूचना नभएको स्पष्ट पारे। “हामीलाई भारतीय पक्षबाट कुनै खबर आएको छैन। यदि यस्तो भएको हो भने पहिले हामीलाई सूचित गर्नुपर्थ्यो। अहिले यो खबर झूटो पनि हुन सक्छ,” उनले भने।
यता परिवारले मेघराजको सुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपाल सरकार र सम्बन्धित निकायलाई तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेका छन्।



कागजपत्र |
