भारतमा मृत्यु भएका नेपालीहरुको शव व्यवस्थापन तथा राहत तत्काल प्रदान गरियोस् : प्रचण्ड


काठमाडौं-  नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको गोवा र उत्तरप्रदेशमा भएका अलग-अलग आगलागी घटनामा ज्यान गुमाएका नेपालीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै प्रचण्डले सातजना नेपालीको मृत्यु भएको दुखद घटनाले आफू स्तब्ध बनेको उल्लेख गरेका छन् । उनले मृतकहरूको शव व्यवस्थापनदेखि पीडित परिवारलाई आवश्यक राहत उपलब्ध गराउन सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिए।

प्रचण्डले लेखेका छन्, ‘भारतको गोवा र उत्तरप्रदेशमा भएका आगलागीका घटनामा सातजना नेपालीको मृत्यु भएको दुःखद खबरले म स्तब्ध बनेको छु । कीर्तिशेष दाजुभाइहरूमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

साथै उनले आफ्नो पार्टीका प्रवास संरचनालाई मृतकहरूको शव व्यवस्थापन तथा राहत सहयोगका लागि आवश्यक समन्वय र सहजीकरण गर्न निर्देशन दिएका छन्।
‘मृतकहरूका शव व्यवस्थापन तथा आवश्यक राहत प्रदानका लागि सरकारले छिटो कूटनीतिक कदम चालोस् भन्ने आग्रह गर्दछु । साथै पार्टीका सम्बन्धित प्रवास समितिहरूलाई समन्वय र सहजीकरणका लागि निर्देशन गर्दछु,’ प्रचण्डले लेखेका छन्।

प्रतिक्रिया