
अन्तिमपटक चुनाव लड्ने देउवाको इच्छा
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुराबाट नै उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन् । उनले यो चुनाव आफ्ना लागि ‘अन्तिमपटकको प्रत्यक्ष प्रतिस्पर्धा’ हुने संकेत नजिकका नेताहरूसँग गरेका छन्।
डडेल्धुरा कांग्रेसका सभापति भीमबहादुर साउदका अनुसार देउवाले उम्मेदवारी दिन चाहेको बताएका कारण उनलाई सर्वसम्मत सिफारिस गर्ने तयारी भइरहेको छ । कांग्रेसले यही महिनाको अन्त्यसम्म केन्द्रमा नाम पठाउन परिपत्र गरेसँगै डडेल्धुरामा देउवामुखी वातावरण बनिसकेको साउदको भनाइ छ।
अघिल्लो सातामा देउवालाई भेट्न महाराजगञ्जस्थित निवास पुगेका सुदूरपश्चिमका एक केन्द्रीय सदस्यले समेत सभापतिले ‘चुनाव लड्ने चाहना स्पष्ट रूपमा व्यक्त गरेको’ दाबी गरेका छन् । उनले भने, ‘साथीहरूले तपाईं नै उठ्नुपर्यो भनेपछि देउवाले म उठ्छु भनेका थिए ।’
यस्तै, मंगलबार बिहान देउवालाई भेट्न पुगेका नेविसंघ नेता भुवन भट्टले पनि देउवाले यो निर्वाचनमा अन्तिमपटक प्रतिस्पर्धामा उत्रिने संकेत दिएको बताए ।
कांग्रेसको परिपत्रअनुसार, निर्वाचन क्षेत्रीय समितिले मंसिर २५ भित्र नाम सिफारिस प्रदेश समितिमा पठाउनुपर्नेछ । पार्टी विधानअनुसार प्रत्येक क्षेत्रमा एक महिला सहित तीन जनाको नाम केन्द्रमा पठाउनुपर्ने व्यवस्था छ।
देउवा २०४८ सालदेखि निरन्तर डडेल्धुराबाट प्रतिनिधिसभा चुनाव जित्दै आएका नेता हुन्।



कागजपत्र |
