दुई मन्त्रिपरिषद बैठकका १४ निर्णय सार्वजनिक


काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले दुई वटा मन्त्रिपरिषदको बैठकले गरेको १४ वटा निर्णय सार्वजनिक गरेका छन् । मन्त्री गुरुङले चैत २० र २३ गते बसेको बैठकले गरेको १४ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

सरकारले गरेको निर्णयमा सिन्धुपाल्चोक जिल्लास्थित पाङ्गताङ्ग सवस्टेशनदेखि बाह्रविसे सवस्टेशनसम्म करिब २० कि.मी. डबल सर्किट बलेफी-बाह्रविसे १३२ के.भी.प्रशारण लाइनको टावरहरु निर्माण गर्न जुगल गाउँपालिका र बाह्रविसे नगरपालिकामा पर्ने १.२७ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने र प्रारम्भिक कारवाही चलाउने अधिकारी तोक्ने निर्णय भएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय, काठमाडौबाट कैलाश श्रेष्ठको नाममा मिति २०६२ असोज ९ गते जारी भएको २३०७४-५४६३८ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्रमा उल्लेखित विवरणमा नाममा भूमिका श्रेष्ठ र लिङ्गमा अन्यबाट महिला कायम गरी नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि जारी गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।

शान्तिपूर्ण आन्दोलनको क्रममा शहादत प्राप्त गरेका झापा जिल्ला कन्काई नगरपालिका-३ का स्व. डिल्ली गौतम र झापा जिल्ला कचनकवल गाउँपालिका-६ का स्व. लक्ष्मी पाण्डेलाई शहीद घोषणा गर्ने निर्णय भएको छ ।

यस्तै नेपाली सेनाका लेखा प्रमुख सेनानी विनोद थापालाई लेखा महासेनानी दर्जामा बढुवा गरी पदस्थापन गर्ने, नेपाल र ओमान सरकाबीच पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय भएको छ । यस्तै रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका, रामेछापको नाम हेरफेर गरी दोरम्बा शैंलुङ गाउँपालिका, रामेछाप कायम गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।

विभिन्न २७ जना विदेशी नागरिकहरूले बुझाउनु पर्ने भिसा दस्तुर एवं बिलम्ब शुल्क वापत अमेरिकी डलर ४ लाख ७२ हजार ३६० र जरिवाना वापत १३ लाख ५० हजार मिनाहा दिई तीन महिनाभित्र नेपाल छाड्न प्रस्थान अनुमति दिने निर्णय भएको छ ।

राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा फलेबास नगरपालिका-१, कार्कीनेटा, पर्वतका डा. किरण पौडेल र सदस्यहरूमा भिमेश्वर नगरपालिका-१, दोलखा कमला ओली सिवाकोटी, कोल्हवा वगैया-६, महोत्तरीका शशिकुमार शर्मा, काठमाडौं महानगरपालिका–३२, काठमाडौंका सुस्मिता ढकाल र बाणगंगा-२, कपिलबस्तुका भेषराज आचार्यलाई नियुक्त गर्ने निर्णय भएको छ ।

यस्तै विदेशमा बस्ने नेपाली समुदायले वा ती समुदायका लागि काम गरिरहेका संस्थाले वा नेपाली पाठ्यक्रममा शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न चाहनेले सम्बन्धित देशको कानुनअनुसार दर्ता गरी सञ्चालन गरेका विद्यालयमा माध्यमिक तहसम्मको पठनपाठन सञ्चालन गर्न माग भई आएमा त्यस्ता विद्यालयलाई नेपाली पाठ्यक्रम अनुसार पठनपाठन सञ्चालन गर्न सर्त तोकी अनुमति दिन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको छ ।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको कीर्तिपुरस्थित परीक्षा नियन्त्रण कार्यालयको पश्चिम तर्फको गाङ्खेलको साठी रोपनी जग्गामा त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत नेफ्रोलोजी तथा युरोलोजी लगायतका अन्य जटिल रोगको अध्ययन अध्यापन तथा तालिमसहित विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्ने मेडिकल सुपरस्पेसियालिटी केन्द्र र राष्ट्रिय रोग निदान केन्द्र निर्माणका लागि त्रिभुवन विश्वविद्यालयलाई पुनः प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

डोल्पा जिल्ला छार्का ताङसोङ गाउँपालिकाको केन्द्र गाउँपालिका-३ ढाँडगाउँबाट हेरफेर गरी वडा नम्बर ४ को कागकोटमा कायम गर्न स्वीकृति दिने निर्णय भएको छ । बाँके जिल्ला खजुरा गाउँपालिकाको केन्द्र गाउँपालिका-४ बागेश्‍वरीबाट हेरफेर गरी वडा-३ को बागमतीनगरमा कायम गर्न स्वीकृति दिने निर्णय भएको छ ।

यस्तै विज्ञापन बोर्डको अध्यक्ष पदमा पनौती नगरपालिका-२, काभ्रेपलाञ्चोक निवासी लक्ष्मण हुमागाईंलाई नियुक्त गर्ने निर्णय भएको छ ।यस्तै नेपाल- भारत रेल सेवा सम्झौता २००४ मा संशोधन गर्ने गरी तयार गरिएको मस्यौदा स्वीकृत गर्ने र नेपालको तर्फबाट हस्ताक्षर गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई अख्तियारी दिने निर्णय पनि भएको छ ।

प्रतिक्रिया