

विदेशमा नेपाली पाठ्यक्रममा परिवर्तन

काठमाडौं – विदेशमा नेपाली पाठ्यक्रम अनुसार गराईने पठन पाठनको व्यवस्था परिवर्तन भएको छ । हाल १० कक्षासम्म पठन पाठन गराउन पाइने व्यवस्था रहेकोमा अबदेखि १२ कक्षासम्म पठन पाठन गराउन पाइने भएको छ ।
चैत २० गते बसेको मन्त्रिपरिषद बैठकले विदेशमा बस्ने नेपाली समुदाय, ती समुदायका लागि काम गरिरहेका संस्था वा नेपाली पाठ्यक्रममा शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न चाहने संस्थाले माध्यमिक तहसम्मको पठन पाठनको अनुमति मागेमा सर्त तोकी अनुमति दिन सक्ने निर्णय गरेको छ ।
आधारभूत तथा माध्यामिक शिक्षा ऐन, २०७५ ले माध्यामिक कक्षा ९ देखि १२ लाई मानेको हुनाले विदेशमा १२ कक्षासम्म पठनपाठन गराउन पाइने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।
कुनै पनि देशमा नेपाली पाठ्क्रम अनुसार विद्यालय खोल्न अथवा सञ्चालन गर्न चाहेमा सोही देशको कानुन अनुसार दर्ता गरी सञ्चालन गर्न पाउने व्यवस्था छ । नेपाली पाठ्यक्रम पठन पाठन हुने विद्यालयको निरीक्षण सोही देशमा रहेको दूतावासले गर्न पाउने हुन्छ ।

