४ वर्ष वित्न लाग्दा पनि सकिएन पुल्चोक-थापाथली ‘फ्लाइ ओभर’को सम्भाव्यता अध्ययन


काठमाडौं – करीब चार वर्ष पुग्न लाग्दा पनि ललितपुर महानगरपालिकाले थालेको पुल्चोकबाट थापाथलीसम्म ‘फ्लाइ ओभर’ बनाउने सम्भाव्यता अध्ययन पूरा हुन सकेको छैन ।

२०७४ वैशाखको स्थानीय निर्वाचनपछि बसेको ललितपुर महानगरको पहिलो कार्यपालिका बैठकले पुल्चोकबाट कुपण्डोल (सम्भवतः वाग्मती वारि) सम्म फ्लाइओभर निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको थियो । तर, अहिलेसम्म आयोजनाको सम्भाव्यता अध्ययन नै नसकिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।

महानगरका प्रवक्ता राजु महर्जनका अनुसार आयोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन सकिए पनि पूर्ण प्रतिवेदन आउन बाँकी रहेको बताउँछन् । ‘कोरोनाको महामारीका कारण सम्भाव्यता अध्ययन रिपोर्ट अझै तयार हुनसकेको छैन’, महर्जनले भने । मेयर चिरीबाबु महर्जनले आफ्नो घोषणापत्रमा उल्लेख भएको आयोजना आफ्नो कार्यकालभित्र कार्यान्वयन थाल्ने गरी फ्लाइ ओभरको निर्माणका लागि प्रक्रिया अघि बढाउने निर्णय भएको बताएका थिए ।

तर, अझैसम्म पनि सम्भाव्यता अध्ययन नसकिएकाले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कहिलेबाट बनाउने भन्ने तय छैन । पुल्चोकबाट कुपण्डोलसम्म झण्डै १.४ किलोमिटरमा फ्लाइओभर बनाउने योजना छ । ललितपुरको योजनाअनुसार यो फ्लाइ ओभर बनेमा नेपालमा स्थानीय तहले बनाएको सबैभन्दा ठूलो परियोजना हुनेछ । यसलाई बनाउन झण्डै ५ अर्ब लाग्ने अनुमान छ । यो लगानी कसरी जुटाउने भन्ने अहिले टुंगो लागिसकेको छैन ।

ठूला मालबाहक सवारी पनि गुड्न सक्ने गरी फ्लाइ ओभर बनाउने महानगरको योजना छ । फ्लाइ ओभरको अन्तिम बिन्दु थापाथली हुनसक्ने महानगरको आकलन छ । यो सम्भाव्यता अध्ययनपछि नै टुंगो लाग्नेछ । जाइकाले त्रिपुरेश्वर-थापाथली-माइतीघर रुटमा फ्लाइओभर बनाउने भनेकाले यसमा जोड्न सकिन्छ कि भन्ने ललितपुर महानगरको बुझाइ छ । महानगरले पुल्चोकभन्दा अघि जाउलाखेलतर्फ भने रातो मच्छिन्द्रनाथको जात्रा हुने भएकाले फ्लाइ ओभर नबनाउने बताएको छ ।

प्रतिक्रिया