
पञ्चेश्वरका अध्यक्ष चन्दले गरे एमाले परित्याग, महाधिवेशनबाट बाइपास गरिएको आरोप
बैतडी- एमाले सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य तथा पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले नेकपा एमाले छाड्ने घोषणा गरेका छन्। उनले पार्टीको ११औँ महाधिवेशनमा आफूलाई प्रतिनिधि छनोटबाट बाइपास गरिएको भन्दै यो निर्णय लिएका हुन्।
चन्दले बैतडीबाट प्रतिनिधि छनोटमा आफूलाई योजनाबद्ध रूपमा हटाइएको अनुभव सामाजिक सञ्जालमा लामो स्टाटसमार्फत सार्वजनिक गर्दै पार्टी परित्यागको घोषणा गरेका छन्। उनले लेखेका छन्, “पार्टीको जिल्ला र गाउँपालिका नेतृत्व लिलाधर भट्ट, विना भट्ट र रामसिंह पुजारालाई हस्तान्तरण गर्दै म नेकपा एमाले परित्याग गरेको घोषणा गर्दछु।”
उनका अनुसार पार्टीभित्र गुटगत चलखेल, जालझेल, निरङ्कुशता, चाकरी संस्कृति र उद्देश्यपूर्ण बाइपास नै पार्टी छाड्ने मुख्य कारण हुन्। चन्दले पञ्चेश्वर गाउँपालिकामा काम अपेक्षाअनुसार अघि बढ्न नसक्नुमा जिल्ला नेतृत्वको हस्तक्षेप र नेता–कार्यकर्ता बीच अनावश्यक द्वन्द्व सिर्जना हुनु पनि प्रमुख कारण भएको बताएका छन्।
विशेषगरी एमाले केन्द्रीय कमिटी सदस्य लिलाधर भट्टले आफूलाई प्रतिस्पर्धी मान्दै लगातार जालझेल गरेर पार्टीबाट हटाउने प्रयास गरेको उनले दाबी गरेका छन्। उनले थपे, “मलाई प्रतिनिधि बन्न नदिने पछिल्लो कदम त्यसैको उदाहरण हो।”
साथै, उपाध्यक्ष विना भट्ट र केही वडाध्यक्षहरूले आफूविरुद्ध परिचालित भएको आरोप पनि चन्दले लगाएका छन्।



कागजपत्र |
