अन्ततः कांग्रेसको नियमित महाधिवेशनमा नै सहमति, भोलीको बैठकले कार्यतालिका ल्याउने


काठमाडौं – अन्ततः नेपाली कांग्रेसको नियमित महाधिवेशन  नै हुने भएको छ । करिब २ महिनासम्म चलेको विशेष र नियमित अधिवेशन विवाद पश्चात्, नेपाली कांग्रेसभित्र यही पुस महिनाभित्र नियमित महाधिवेशन नै गर्नेगरी सहमति भएको छ ।

नियमित महाधिवेशनको समय पुगिसक्दा पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माहरुले विशेष महाधिवेशनको रटान गरिरहेका थिए । तर भदौ २४ गतेको जेनजी प्रदर्शनमा प्रदर्शनकारीको निशानामा परेर गम्भीर घाइते भएका सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुरबाट फर्किसकेपछि पार्टीको व्यवस्थापनका लागि  केही सक्रिय बनेपछि नियमित महाधिवेशन नै हुने भएको हो । यद्यपि केही नेताहरुले महाधिवेशन निर्वाचनपछि गर्नुपर्ने जनाएका छन् ।

विधानविपरीत विशेष अधिवेशनको एजेन्डाले ग्रासरुटदेखि केन्द्रसम्म अन्योल सिर्जना गर्दा, नेपाल तरुण दल र नेपाल विद्यार्थी संघसहित जिल्ला–वडा तहका नेता–कार्यकर्ताले निरन्तर दबाब अभियान चलाएका थिए । सो कुरालाई मध्यनजर गर्दै सभापति देउवाले मजबुद पार्टी निर्माणका लागि नियमित महाधिवेशनको लागि कार्यतालिका ल्याउने सहमति गराएका छन् ।

यस निर्णयसँगै “हतारको परिणाम खोज्नेहरू नेता होइनन्, संघर्ष र प्रक्रिया रोज्नेहरू नै असली नेतृत्व हुन्” भन्ने बहस कांग्रेसभित्र निर्णायक बन्यो ।

अनौपचारिक छलफल, गुटगत संवाद र विधान व्याख्याको लामो रस्साकस्सीपछि अन्ततः विशेष अधिवेशनको प्रस्ताव थाँती राख्दै नियमित कार्यतालिका ल्याउने सहमति बनेको हो ।

महाधिवेशनका बारेमा निर्णय हुन नसकेपछि लामोसमयदेखि कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्न सकेको छैन । सभापति देउवा सिंगापुरमा रहँदासम्म नियमित बसिरहेको कार्यसमितिको बैठक देउवा स्वेदश फर्किएपछि महाधिवेशनबारे सहमतिका लागि  पटकपटक सरेको जनाइएको छ ।

यसैबीच पछिल्लो जानकारीअनुसार पुसभित्र नियमित महाधिवेशन गर्ने सहमतिभएसँगै आइतबार बस्ने भनिएको केन्द्रीय कार्य समिति बैठक भोली (सोमबार)का लागि सारिएको छ । भोली बस्ने बैठकमा पुस मसान्तभित्र नियमित महाधिवेशन सम्पन्न गर्ने, क्रियाशील सदस्यता नवीकरण खुला गर्ने, नयाँ सदस्यता वडा र केन्द्र तहमा भर्न पाउने गरी प्रक्रिया शुरू गर्नेलगायतका कार्यतालिका सार्वजनिक गर्ने स्रोतले जनाएको छ ।

यस निर्णयले संगठनमा नयाँ उभार, युवामा उत्साह, र तल्लो तहदेखि नेतृत्व पुनर्जीवनको मार्ग खुल्नेछ ।

प्रतिक्रिया