
भरतपुर अस्पताल देशकै उत्कृष्ट घोषित
काठमाडौं– संघीय अस्पतालको रूपमा परिचित चितवनको भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्डमा सबैभन्दा बढी ८८ अंक हासिल गर्दै देशकै उत्कृष्ट स्वास्थ्य सेवा दिने अस्पताल बनेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीमा नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले भरतपुर अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्ने सूचकमा सबैभन्दा अग्रस्थानमा रहेको जानकारी दिए।
उनले मूल्यांकनअनुसार दाेस्राेमा भेरी अस्पताल (८३ अंक) र तेस्राेमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (७९ अंक) रहेकाे बताए ।
यस्तै धरान स्वास्थ्य विज्ञान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (७५ अंक) , डडेल्धुरा अस्पताल (७३ अंक) र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले (७१ अंक) प्राप्त गरेका छन्। यस्तै वीर अस्पताल ६७, परोपकार स्त्री तथा प्रसूति अस्पताल ६४, कोशी अस्पताल ६३, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ५९ र नारायणी अस्पताल ५६ प्रतिशत सेवा मापदण्ड पूरा गर्न सफल भए।
डा. पौडेलका अनुसार गजेन्द्र नारायण सिंह अस्पताल र मानसिक पाटन अस्पतालको अवस्था निकै दयनीय देखिएको छ। गजेन्द्र अस्पतालले ३६ प्रतिशत र मानसिक अस्पतालले ३२ प्रतिशत मात्र सेवा मापदण्ड पूरा गर्न सकेका छन्।



कागजपत्र |
