गगनलाई कल्याणको जवाफ, ‘कांग्रेस वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनावमा जान्छ’


काठमाडौं — नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले महामन्त्री गगन थापाले सोमबार सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिमा जवाफ फर्काएका छन्।

महामन्त्री थापाले अब नेपाली कांग्रेस नयाँ सभापतिको हस्ताक्षर लिएर चुनाबमा होमिने भन्दै दिएको अभिव्यक्तिको प्रतिउत्तरुस्वरुप गुरुङले अब विशेष महाधिवेशनको विकल्प नभएको भन्दै सभापति शेरबहादुर देउवाको हस्ताक्षर लिएर कांग्रेस चुनावमा नजाने बताएका थिए।

नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोग जाने गगनको दाबीविरुद्ध गुरुङले वर्तमान सभापतिकै हस्ताक्षरमा चुनावमा जाने दाबी गरेका छन् ।

आज गगनकै शैलीमा फेसबुकमा लेख्दै गुरुङको कुरा स्पष्ट रहेको भन्दै विशेष महाधिवेशन नहुने जवाफ फर्काएका छन्।

उनी लेख्छन्ः

साथीहरुले फोन गरेर सोध्नु हुन्छ – के विशेष महाधिवेशन मंसिरमा हुन्छ ?
मैले भने – बाहिर हल्ला चलेको जस्तो केही पनि छैन ।
एक, केन्द्रीय कार्य समितिको बैठकमा आज सम्म पनि विशेष महाधिवेशनको र नियमित महाधिवेशनको प्रस्ताव आधिकारिकरुपमा आएको छैन ।
दुई, पार्टीको विधानको धारा १७(२) मा लेखिएको भए पनि यसको नियमावली र कार्यविधि बनि सकेको छैन । तीन, हस्ताक्षरहरुको सनाखत र प्रमाणीकरण भई सकेको छैन ।
चार, विशेष महाधिवेशनले पार्टी सभापति वा पदाधिकारी वा सदस्यलाई हटाउने व्यवस्था विधानको धारा १७(२) मा कहिकतै लेखिएको छैन ।
पांच, विधानको धारा १७(२) अनुसारको विशेष महाधिवेशनले पार्टी सभापतिलाई हटाउने व्यवस्था विधान र नियमावलीमा उल्लेख भएको नै छैन ।
विधानको धारा २६ अनुसार केन्द्रीय सभापतिले राजीनामा दिई वहांको राजीनामा स्विकृत भई सकेको अवस्थामा कार्यवाहक सभापतिले ६ महिना भित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाई केन्द्रीय सभापतिको निर्वाचन गरिनेछ ।
विधानको धारा ४४ अनुसारको अविश्वासको प्रस्ताव पास गरेर मात्र पार्टी सभापति र पदाधिकारीलाई हटाउन सकिन्छ ।
वहांहरुले फेरि सोध्नु भयो – अब के हुन्छ ?
मैले फेरि भने – विधानमा व्यवस्था भएको मापदण्ड अनुसार हस्ताक्षरहरुको सनाखत र प्रमाणीकरण पनि भई सकेको छैन । यसको लागि आवश्यक नियमावली र कार्यविधि पनि बनिसकेको छैन । पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा छलफलको लागि औपचारिक प्रस्तावको रुपमा पनि आएको छैन । यस सम्बन्धमा पार्टीको केन्द्रीय कार्य समितिले कुनै निर्णय पनि गरिसकेको छैन ।
साथसाथै, पार्टीले २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुने निर्णय गरि सकेको छ ।
पार्टीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने सम्पुर्ण तयारीको काम सम्पन्न गर्नु पर्नेछ ।
पार्टी एकता कायम राख्नु छ र पार्टीलाई अझ बढी एकताबद्ध बनाउनु छ ।
यसैले पार्टीले अहिले विशेष महाधिवेशनमा अलमलिने संभावना कम देखिन्छ ।
यसर्थ, ढुक्क हुनु होस्, वर्तमान सभापतिज्यू कै हस्ताक्षरमा पार्टी निर्धक्क निर्वाचनमा जान्छ ।
पार्टीलाई अझ बढी एकताबद्ध बनाउनु र पार्टी एकता कायम राख्नुको लागि पार्टीको विशेष महाधिवेशन एक हुंदैन, दुई हुंदैन र तीन हुंदैन ।
कुरो सुस्पष्ट छ ।
आफै विचार गर्नु होला ।
भ्रममा नपर्नु होला ।
किमधिकम् ।
जय नेपाल !

प्रतिक्रिया