मधेशकाे गौर प्रादेशिक अस्पताल लगातार दोस्रो वर्ष उत्कृष्ट


जनकपुरधाम– मधेश प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत गरिएको अनुगमन निरीक्षण र कार्यसम्पादन मूल्यांकनमा रौतहट जिल्लाको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पताल उत्कृष्ट घोषित भएको छ। स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेले तीन दिने वार्षिक समीक्षा गोष्ठीको समापन समारोहमा गौर अस्पताललाई उत्कृष्ट घोषणा गरेका हुन्।

मूल्यांकन अनुसार प्रादेशिक अस्पताल गौरले ९१ प्रतिशत अंक प्राप्त गरी मधेश प्रदेशका सात प्रादेशिक अस्पतालमध्ये पहिलो स्थान हासिल गरेको छ। यसअघि पनि आर्थिक वर्ष २०८०/८१ मा गौर अस्पताल प्रदेशको उत्कृष्ट घोषणा भइसकेको थियो।

तीन दिने वार्षिक समीक्षा गोष्ठीमा पर्सा बाहेकका जिल्लाका प्रादेशिक अस्पतालका वर्षभरका स्वास्थ्य कार्यक्रमहरूको मूल्यांकन गरिएको थियो। न्यूनतम सेवा मापदण्ड अन्तर्गत गौर अस्पतालले नियमित रूपमा उत्कृष्ट कार्यसम्पादन देखाएको थियो। मूल्यांकनमा अस्पतालले दिने सेवा, डाक्टर र स्वास्थ्यकर्मीको अवस्था, बिरामीसँग व्यवहार, भौतिक पूर्वाधार, एम्बुलेन्स, क्यान्टिन, बेड, अप्रेसन कक्ष, शौचालय, सरसफाइ र अन्य सुविधा समावेश थिए।

दोस्रो स्थान जलेश्वर अस्पतालले ८० प्रतिशत अंक ल्याएको छ भने सिरहा ७८ प्रतिशत अंकसहित तेश्रो भएको छ। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको प्रादेशिक अस्पताल जनकपुर भने ५० प्रतिशत अंकसहित सूचीको पुछारमा रहेको छ।

उत्कृष्ट अस्पतालका मेडिकल सुप्रिटेन्डेन्टलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मान गरेका छन्। यस्तै, पालिकातर्फ सर्लाही जिल्ला उत्कृष्ट घोषित भएको छ। लालबन्दी नगरपालिकाले ९९.०३ प्रतिशत अंकसहित प्रथम स्थान हासिल गरेको छ।

स्वास्थ्य कार्यालयतर्फ पर्सा जिल्ला प्रथम, सर्लाही द्वितीय र महोत्तरी तृतीय स्थानमा रहे। आयुर्वेदतर्फ पर्सा प्रथम, बारा द्वितीय र महोत्तरी तृतीय रहे। संस्थागत अस्पतालतर्फ बर्दिबास अस्पताल प्रथम घोषित गरिएको छ। समापन समारोहमा उत्कृष्ट स्वास्थ्यकर्मी र कर्मचारीलाई पनि सम्मान गरिएको थियो।

प्रतिक्रिया