रास्वपा केन्द्रीय समिति बैठक सम्पन्न, उम्मेदवार छनाेटका लागि विपिनलाई जिम्मेवारी


काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ ।

बुधबार बसेको बैठकमा केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा गर्नुका साथै विभिन्न ९ वटा निर्णय गरेको छ ।

विस्तारित बैठक व्यवस्थापन समिति संयोजक हरि ढकालले बैठकको समीक्षा गर्दै सदस्यहरूबाट प्राप्त सुझावहरूलाई आगामी दिनमा कार्यान्वयन गर्दै जाने बताए । विस्तारित बैठकमा उपस्थित सबै प्रतिनिधि, व्यवस्थापनमा खटिएका सबैलाई धन्यवाद दिए ।

विस्तारित बैठकमा कार्यवाहक सभापति  डोलप्रसाद अर्यालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रस्तुत संगठनात्मक प्रतिवेदन र सहमहान्त्री विपिनकुमार आचार्यले प्रस्तुत गरेको उम्मेदवार छनोट विधिमा प्राप्त सुझावहरूसहित पारित गर्ने निर्णय भएको छ ।

त्यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि उम्मेदवार छनोटसम्बन्धी रूपरेखा मस्यौदा तयारीका लागि सहमहामन्त्री विपिनकुमार आचार्यलाई थप जिम्मेवारी प्रदान गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट समितिको संयोजक तोकिएको छ।

उम्मेदवार छनोट समिति सदस्यहरूमा सचिवालय सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्यद्वय डा. चन्दा कार्की र  राजन गौतम (चितवन) तथा प्रदेश सभापतिहरू पदेन सदस्यका रूपमा रहनेछन्।

रुपन्देही–३ को हकमा भने यसअघि नै छनोट भइसकेका उम्मेदवार नै कायम रहने जनाइएको छ ।

 

प्रतिक्रिया