
बसको ठक्करबाट पैदलयात्रुको ज्यान गएपछि अरनिको राजमार्ग अवरुद्ध
काभ्रेपलाञ्चो- अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–४ मा ६५ वर्षीय दिलबहादुर श्रेष्ठको बसको ठक्करबाट मृत्यु भएको छ।
सिन्धुपाल्चोकको चौताराबाट काठमाडौँतर्फ आउँदै गरेको अरनिको यातायातको बा २ ख ६५७९ नं को बसले पैदलयात्री श्रेष्ठलाई ठक्कर दिएको थियो । स्थानीय राजन कार्कीका अनुसार बिहान ८ बजे बसेले ठक्कर दिएपछि गम्भीर घाइते श्रेष्ठको उपचारका क्रममा १२ बजे धुलिखेल अस्पतालमा मृत्यु भएको छ। प्रत्यक्षदर्शीका अनुसार सोही दिशाबाट अर्को बसलाई ओभरटेक गर्दै आएको उक्त बसले सडक छेउमा हिँडिरहेका श्रेष्ठलाई ठक्कर दिएर १० मिटर पर उछिट्याएको थियो।
यसैबीच, उपचारका क्रममा श्रेष्ठको मृत्यु भएपछि उनका आफन्तले चालकलाई कारबाही तथा क्षतिपूर्तिको माग गर्दै अरनिको राजमार्ग अवरुद्ध गरेका छन्। घटनापछि चालक फरार भएपछि ठक्कर दिने बसलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको छ भने चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नगरप्रमुख महेश खरेलले पीडितलाई क्षतिपूर्ति तथा अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको बताए।



कागजपत्र |
