युके र साइप्रस पठाउने भन्दै ठगी, सुजु र रोजी पक्राउ


काठमाडौं- वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। उनीहरूलाई विदेश पठाउने नाममा रकम ठगी गरेर सम्पर्कविहीन बनेको उजुरीका आधारमा पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–८ बस्ने सुजु प्रजा (२५) र काठमाडौं नागार्जुन नगरपालिका–४ बस्ने रोजी गुरुङ (४२) रहेका छन्। सुजुले युके पठाउने प्रलोभन देखाएर पीडितबाट २ लाख ६४ हजार रुपैयाँ लिएको आरोप छ भने रोजीले साइप्रस पठाउने भन्दै ७ लाख रुपैयाँ लिएको उजुरी परेको थियो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुजुलाई काठमाडौं–२८ बाट र रोजीलाई काठमाडौं–१५ बाट पक्राउ गरी वैदेशिक रोजगार विभागमा आवश्यक अनुसन्धान र कारबाहीका लागि बुझाएको छ।

प्रहरीले अनुसन्धान जारी राखेको र ठगीमा संलग्न अन्य व्यक्तिको पहिचानका लागि समेत कदम चालिने जनाएको छ।

प्रतिक्रिया