सरकार चुनावप्रति गम्भीर छैन: शंकर पोखरेल


काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमाले समय खेर नफाल्ने बताएका छन्।

प्रेस चौतारी रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तर्क्रियामा बोल्दै पोखरेलले एमाले कुनै पनि परिस्थितिमा चुनावबाट नभाग्ने पार्टी भएको दाबी गरे। तर चुनाव हुनु नै नसक्ने अवस्थामा त्यसको पैरवी गरेर समय बर्बाद गर्न नचाहने उनले स्पष्ट गरे।

उनले वर्तमान सरकार निर्वाचनप्रति गम्भीर नभएको आरोप लगाउँदै केवल निर्वाचन आयोगले चुनावको घोषणा मात्र गरेर चुनाव सम्भव नहुने टिप्पणी गरे। अन्य राजनीतिक दलहरू जेन–जी पुस्ता रिसाउलान् भनेर ‘चुनाव–चुनाव’ भन्दै हिँडेको उनको भनाइ थियो।

पोखरेलले नेपाल प्रहरीको मनोबल उच्च नबनाएसम्म चुनावका लागि आवश्यक वातावरण बन्न नसक्ने जिकिर गरे। उनले प्रतिनिधिसभा पुनर्स्थापनाको एजेन्डासहित एमाले जनतामाझ गएको पनि बताए।

त्यस्तै उनले बाह्य शक्ति, राजनीतिक कुण्ठा, वैकल्पिक शक्ति निर्माणको नाममा देखिएको अराजकता र विभिन्न समूहका गतिविधिले जेन–जी आन्दोलनलाई भड्काउने तथा ध्वस्तात्मक बनाउने काम गरिरहेको आरोप लगाए। आन्दोलनमा षड्यन्त्र गर्नेहरूलाई पहिचान गरी कारबाही गर्नुपर्ने उनले जोड दिए।

प्रतिक्रिया