
जनकपुरमा ७ राजनीतिक दलको प्रदर्शन जारी
जनकपुरधाम- मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्कँदै गएपछि सात दलीय गठबन्धन आइतबार पनि सडक आन्दोलनमा उत्रिएको छ। नेपाली कांग्रेस, जसपा नेपाल, लोसपा, माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसद तथा नेता–कार्यकर्ताले जनकपुरधामस्थित मधेश भवन अगाडि सडक रोकेर धर्ना दिएका हुन्।
सात दलले सभामुख रामचन्द्र मण्डलमाथि कारबाहीको माग गर्दै शनिबार प्रदेश सभा भवनको चौरमै वैकल्पिक बैठक सञ्चालन गरेका थिए। उनीहरूले सभामुखविरुद्ध महाअभियोग दर्तासहित मुख्यमन्त्री नियुक्ति प्रक्रियालाई पूर्ण रूपमा असंवैधानिक ठहर गर्दै निरन्तर आन्दोलित छन्।
गत कात्तिक २४ मा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियत देखाउँदै नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरी महोत्तरीको एक होटलमै सपथ गराएकी थिईन्। यही घटनालाई असंवैधानिक भन्दै सात दल निरन्तर विरोधमा रहेका छन्।
आइतबार राष्ट्रिय झण्डासहित शान्तिपूर्ण प्रदर्शनमा सहभागी लोसपाका सांसद परमेश्वर साहले आज नै सर्वोच्च अदालतबाट न्यायपूर्ण निर्णय आउने विश्वास व्यक्त गरे। साहका अनुसार अदालतले यादवको नियुक्तिलाई वैध ठहर गरेमा प्रदेश सभामा विश्वासको मत लिँदा नै वास्तविक परीक्षण हुनेछ।
सर्वोच्च अदालतले आजका लागि पेसी तोकी दुवै पक्षलाई सम्पूर्ण कागजातसहित उपस्थित हुन आह्वान गरेको छ।



कागजपत्र |
