आज पनौतीमा कांग्रेसको बृहत् मोटरसाइकल र्‍याली


पनौती — नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न दबाब दिने उद्देश्यले आज काभ्रेको पनौतीमा बृहत् मोटरसाइकल र्‍याली आयोजना गरिएको छ।

जिल्लाभरका नेता कार्यकर्ता, युवाहरु र समर्थकहरूलाई आफ्ना मोटरसाइकल सहित तोकिएको स्थान र समयमा उपस्थित भई सहभागिता जनाउन आग्रह गरिएको छ। र्‍याली मध्यान्ह १२ः३० बजे पनौती बसपार्क, काभ्रेबाट सुरु हुने जनाइएको छ।

आयोजकका अनुसार र्‍यालीलाई ‘दबाबमूलक कार्यक्रम’ का रूपमा अघि सारिएको छ । जसको उद्देश्य पार्टीभित्र नियमित महाधिवेशन सुनिश्चित गर्न, जिम्मेवार नेतृत्वलाई सक्रिय बनाउन र सुशासनको आवश्यकता जनतासमक्ष बलपूर्वक प्रस्तुत गर्न रहेको छ। “नियमित महाधिवेशन गर ! सुशासन कायम गर ! आत्मनिर्भरताको ग्यारेन्टी गर !” भन्ने राजनीतिक नारा उल्लेख गरिएको छ।

कार्यक्रम व्यवस्थापनका लागि सुरक्षा निकाय, ट्राफिक प्रहरी र स्थानीय निकायसँग आवश्यक समन्वय भइरहेको आयोजकले जनाएको छ। मोटरसाइकलको लामो लाइनमार्फत पनौती बजार क्षेत्र हुँदै चल्ने र्‍यालीले जिल्लाभर जनचेतनाको वातावरण बनाउने विश्वास आयोजक पक्षले व्यक्त गरेको छ।

प्रतिक्रिया